प्रदेश १ मा एक लाख ३१ हजारलाई एन्टिजेन परीक्षण

विराटनगर । प्रदेश १ मा हालसम्ममा १ लाख ३१ हजार १३२ एन्टिजेन जनामा परीक्षण गरिएको छ । एन्टिजेन परीक्षण गरिएका मध्ये ३७ हजार ७१७ जनाको पोजिटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा १ लाख १८ हजार ३१८ एन्टिजेन मौज्दात रहेको मन्त्रालयको तथ्यांकले जनाएको छ । जसमा प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा ९ हजार ३५३ र प्रदेशस्थित स्थानीय तहलगायतका स्वास्थ्य संस्थाहरुमा १ लाख ८ हजार ९६५ एन्टिजेन मौज्दात रहेको हो ।

केन्द्रका स्टोर किपर मानबहादुर मगरले गत आर्थिक वर्षको ४ हजार ५५३ र चालु आर्थिक वर्षमा आएको ५० हजार गरी कूल ५४ हजार ५५३ रहेकोमध्ये हालसम्ममा ४५ हजार २ सय प्रदेशभरिका स्वास्थ्य संस्थाहरुमा पठाइसकिएको र ९३५३ अहिले मौज्दात रहेको बताउनुभयो । गत आर्थिक वर्षमा १ लाख ९९ हजार ४५० एन्टिजेन आएको मध्ये १ लााख ९४ हजार ८९७ बितरण गरेर ४ हजार ३५३ मौज्दात रहेको उहाँको भनाई थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले गाउँघरमा छिटो छरितो तरिकाले ठूलो समूहमा कोरोना संक्रमित पत्ता लगाउन एन्टिजेन परीक्षण निकै प्रभावकारी भएको बताउनुभयो । उहाँले अहिले सबै स्थानीय तहहरुले कन्ट्याक्ट ट्रेसिङका लागि एन्टिजेन परीक्षण नै गरिरहेकाले म्याद गुज्रिने अवस्था आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।

Back to top button