दु:खमा सान्तवना दिन घर घरमा पुग्दै बेलबारीका जनप्रतिनिधि

विराटनगर । चुनावको समयमा घरखेतसम्मै पुगेर मतदातालाई भेटेका जनप्रतिनिधि चुनाव जितेपछि जनताको घरदैलोमा नपुगेको गुनासाहरु धेरै छन् । तर मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधि दुःखका बेला मतदाताको घरदैलोमै पुग्ने गरेका छन् ।

नगरवासीको मृत्यु हुँदा कसैलाई नछुटाई बेलबारीका जनप्रतिनिधि घरदैलोमा पुग्छन् । जनप्रतिनिधिले मृतकको घरमा पुग्ने कार्यक्रम नै बनाएर मृतकका परिवारलाई सान्त्वता दिने गरेका छन् ।

‘दुःखमा नगरपालिका कार्यक्रम’ नाम दिएर मेयर, उपमेयर, वडाध्यक्ष लगायतका जनप्रतिनिधि मृतक परिवारको घरमा जाने गरेका छन् । जनप्रतिनिधिले नगर सभाबाट नै कार्यक्रम पास गरेका छन् । घरआँगनको सरकारको नाताले दुःखपीडामा परेका सबै नागरिकलाई भेट्ने गरिएको नगर प्रमुख सुवेदीको भनाई छ ।

नगद ५ हजार रुपैयाँ र समवेदनापत्र लिएर जाने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । ‘हामीले गरेको ठूलो सहयोग होइन,’ नगर प्रमुख सुवेदीले भन्नुभयो, ‘गरीव तथा विपन्न परिवारका लागि केही राहत दिन्छौं । पहिला हामी व्यक्तिगत तरिकाले जान्थ्यौं । अहिले कार्यक्रम नै बनाएर जान थालेका हौं ।’

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारले दुःखमा परेको बेला स्थानीय सरकारले राहत दिने गरेको बताउनुभयो । ‘गरीव तथा विपन्नलाई दुःखपीडामा परेका बेला खर्च अभाव भएकोले धर्मसंस्कार अनुसार कर्म गर्न ऋण खोज्ने चलनै थियो । तर त्यो अहिले अन्त भएको देखिन्छ,’ पण्डित भोला नेपालले भन्नुभयो , ‘नगरपालिकाको कार्यक्रमले गरीव तथा विपन्नलाई राहत मिलेको छ ।’

Back to top button