नेकपा एमाले विभाजन प्रभाव : प्रदेश १ मा को बन्नला मुख्यमन्त्री ?

डिएन पथिक
विराटनगर । नेकपा एमाले विभाजन भएसँगै मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अल्पमतमा पर्ने भएकाले अब प्रदेशमा को बन्नला मुख्यमन्त्री चासोको विषय बनेको छ । एमालेले बहुमत कायम राखेर एमालेकै सरकारलाई निरन्तरता दिने आन्तरिक तयारीमा जुटेको छ भने कांग्रेस, माओवादी केन्द्र, प्रस्तावित नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनले पनि सरकार बनाउने तयारीमा देखिएको हो ।

माधवकुमार नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी ओली शर्मासँग निकट भएका नेता भीमप्रसाद आचार्यको नेतृत्वमा सरकार गठन चुनौतिपूर्ण भएको छ । आचार्य सुरुदेखि नै व्यक्तिगत कारणले विवादित भएकाले ओली समूहबाट पनि मुख्यमन्त्रीका लागि बहुमत पुर्‍याउन कठिन भएपछि अन्तिम समयमा पछि हटेका थिए । प्रदेश सांसदमाझ उनको तिक्तता नभएको भए बागमितसँगै प्रदेश १ मा पनि मुख्यमन्त्री परिवर्तन गर्ने ओली पक्षको तयारी थियो ।

एमालेको बहुमत कायम राख्न मुख्यमन्त्री शेरधन राईलाई हटाएर पछिल्लो समय आन्तरिक मालिा तथा कानुन मन्त्री हिक्मत कार्कीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेको छ । प्रदेश सांसद भीम आचार्यको नेतृत्वमा प्रदेशसभामा बहुमत पु¥याउन चुनौतिपूर्ण भएपछि कार्कीको नाम अघि सारिएको हो । मन्त्री कार्कीले आफै पनि भीम आचार्य वा अन्य कसैको नेतृत्वमा प्रदेशसभामा बहुमत कायम गरेर एमालेको सरकारलाई निरन्तरता दिने बताउनुभएको थियो ।

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेतृत्व परिवर्तन गरेर भए पनि एमालेकै सरकार कायम राख्ने तयारीमा जुटेको बताउनुभयो । एकिकृत समाजवादीमा राजेन्द्रकुमार राईसहित ३ देखि ४ जना मात्रै रहने उहाँको दावी छ । ‘कुनैपनि हालतमा प्रदेशमा एमालेको बहुमत कायम रहने उहाँको भनाई थियो ।

नेकपा एमाले विभाजनले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सरकार अल्पमतमा पर्ने निश्चित भएपछि गठबन्धनले प्रस्तावित नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय सदस्य राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार गठनका लागि कसरत सुरु गरेको छ ।

सत्तारुढ गठबन्धनमा कांग्रेसलाई गण्डकी र सुदुरपश्चिम प्रदेशको र माधवकुमार नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीलाई प्रदेश १ र बगामति प्रदेश सरकारको नेतृत्व दिने आन्तरिक सहमति भएकोले राईको नेतृत्वमा सरकार गठनका लागि कसरत सुरु भएको गठबन्धनका नेताहरुले बताउनु हुन्छ ।

प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला संस्थापन इत्तर पक्षका भएकाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउन नचाहेका हुँदा राईको नेतृत्वमा सरकार गठन हुने अवस्था सृजना भएको कांग्रेसका प्रदेश सांसदहरुको भनाई छ ।

एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले केन्द्रबाट पनि सरकारको नेतृत्वका लागि संकेत आइसकेको बताउनुभयो । ‘प्रदेश १ र बागमतिमा एकिकृत समाजवादीलाई प्रदेश सरकारको नेतृत्व दिने सत्तारुढ गठबन्धनमा एकखाले सहमति भएकोले सकारात्मक संकेत आएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पार्टीको दत्र्ता प्रक्रिया पूरा भएपछि सरकार गठनको प्रक्रियामा लाग्छौं ।’

पार्टी विभाजनका क्रममा साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट भएका भीमप्रसाद आचार्यलगायतका नेताले पार्टी एकताका लागि गरिएका १० बुंदे सहमित ५ दिनभित्र कार्यान्वयन नगरे माधवकुमार नेपाललाई बहुमत पुर्‍याइदिने चेताबनी हिजोको बैठकपछि दिनुभएको छ । ५ दिनभित्र ओलीले सहमित कार्यान्वयन नगरे आचार्य नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीमा आए पनि मुख्यमन्त्री भने पाउने सम्भावन देखिदैन ।

नेता आचार्यले ओलीलाई दिएको अल्टिमेटमको ५ औं दिनपछि आफूहरुसँगै आउने भएकाले प्रदेश सांसदको संख्या १८ पुग्ने स्पष्ट देखिएको राईको भनाई थियो । ‘नेता आचार्य फर्के आएपछि अब प्रदेश सरकारको नेतृत्व दिन गठकबन्धनले नै नस्विकार्ने अवस्था सृजना भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘आचार्यलाई गठबन्धनले नस्विकार्ने र प्रदेश सांसद जीवन घिमिरेले अहिलेसम्म अघि बढ्न नसकेकोले प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेबारी मेरै काँधमा आइपुगेको छ ।’

दल दर्ताको प्रक्रिया पूरा भएपछि सरकार गठनको प्रक्रियामा लाग्ने राईको भनाई थियो । प्रदेश १ मा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रिय जनता दल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धन सरकार बन्ने भएको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १÷१ जना सांसद छन् । एमालेका ५१ सांसदमध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बाँकी ५० जना सांसदमध्ये अहिले एकिकृत समाजवादीतर्फ ८ जना सांसद खुलिसकेका छन् भने ६ जना तटस्थ र ३६ जना एमालेमा देखिएका छन् । प्रदेश सरकार बनाउन ४६ जना प्रदेश सांसद आवश्यक हुन्छ ।

Back to top button