उपभोक्ता समितिद्वारा अबैध रुपमा रुख कटान

डिएन पथिक
विराटनगर । रक्षक नै भक्षक भएपछि कसको के लाग्छ भने जस्तै सामुदायिक वन उपभोक्ता समितिले नै हरियो रुख कानुन विपरित कटान गरेपछि संरक्षण कसले गर्ने हो ? यो प्रश्न अहिले बेलबारी नगरपालिका ११ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिमाथि खरो रुपमा उठिरहेको छ । समितिले अवैध रुपमा हरियो रुख कटान गरेको छ । सामुदायिक वनभित्र रहेको किरात धर्म संरक्षण समितिको धार्मिक वनभित्रको बिभिन्न प्रजातिका १४ वटा हरियो रुख काटेको हो ।

सामुदायिक वन उपभोक्ता समितिले निर्णय गरी आर्थिक वर्ष २०६१÷६२ मा किरात धर्म संरक्षण समितिलाई हकभोगका लागि सामुदायिक वनभित्रका १५ कठ्ठा वन क्षेत्रको हक हस्तान्तरण गरेको छ । चन्दा संकलन गरी तारजाली लगाएर घेराबेरा गरी दुःखले हुर्काएका टिकको ९, मसला ३, सिसौ २ वटा गरी कूल १४ वटा अग्लो हरियो रुख सामुदायिक वनले अबैध रुपमा कटान गरेको धर्म संरक्षण समितिका उपाध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

‘साउन ४ गते धार्मिक वनभित्र को२त ६७४८ नम्बरको ट्याक्टरसहित आएका ६ जना मजदुरले रुख काट्दै गरेको अवस्थामा संरक्षण समितिका पूजारी शेरमान लिम्बू र सचिवले देखेपछि समितिका अन्य सदस्यलाई खबर गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि गएर मजदुरहरुलाई सोधपुछ गर्दा सामुदायिक उपभोक्ता वन समितिका अध्यक्ष सुजय गौतमको आदेशमा रुखहरु कटान गरेको बताउनुभयो ।’

समितिको अध्यक्षले नै रुख काट्न आदेश दिएको कुरा आएपछि सबै रुखको भिडियो खिचेर अध्यक्ष गौतमलाई सम्पर्क गरेको उपाध्यक्ष राईले बताउनुभयो । ‘अध्यक्ष गौतमले सवडिभिजन वन कार्यालय बेलबारीबाट प्रक्रिया पूरा गरेर रुख कटान गरिरहेको जवाफ दिनुभयो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि हामी सवडिभिजन वन कार्यालयमा जा“दा रुख कटानका लागि कसैलाई पनि कुनै किसिमको अनुमति नदिएको जानकारी प्राप्त भयो ।’

अध्यक्ष गौतमले सामुदायिक वनका भुई“मा सुत्ने उपभोक्ताका लागि ‘भुईँबाट उठाउने अभियान’ सञ्चालन गर्न रुख कटान गरी खाट बितरण गर्दै आएको छ । उक्त रुखबाट पनि २२ वटा खाट बनाएर उपभोक्तालाई बितरण गरेको अध्यक्ष गौतमले जवाफ दिएको राईले बताउनुभयो ।

सामुदायि वन उपभोक्ता समितिका अध्यक्ष गौतमले कानुनी प्रक्रिया नै पूरा नगरी धार्मिक वनभित्रको रुख अबैध रुपमा कटान गरेको भन्दै सवडिभिजन वन कार्यालय बेलबारीमा उजुरी दिनुका साथै जिल्ला डिभिजन वन कार्यालयमा समेत जानकारी गराएको संरक्षण समितिका सचिव दिपक राईले बताउनुभयो ।

‘एकातिर दुःखले हुर्काएका मोटो र अग्लो हरियो रुख सामुदायिक वन उपभोक्ता समितिले कानुनविपरित कटान गरेको छ भने अर्कोतिर किरात धर्म संरक्षण समितिमा आक्रमण गरी वन विनास गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘धार्मिक वनभित्र हुर्केको रुखमा सामुदायिक वन उपभोक्ता समितिको आ“खा लागेकोले रुख काट्ने क्रममा घेराबेराका लागि लगाइएको तारजाली समेत भत्काएका छन् ।’ डिभिजन वनमा उजुरी दिए पनि हालसम्म दोषीलाई कुनै किसिमको कारबाही नभएको र अध्यक्ष गौतमलाई संरक्षण गर्ने काम भइरहेको राईले गुनासो पोख्नुभयो ।

अध्यक्ष गौतमले आफू काठमाडौं गएको बेलामा धार्मिक वनभित्र चोरी निकासीका लागि रुख कटान भएको सूचना पाएकोले ट्याक्टर पठाएर काट टुनाएर ल्याउन लगाई घाटगड्डीमा राखेको दावी गर्नुभयो । उहाँले करिव ५० क्यूबिक फिट काठ घाटगड्डीमा रहेको स्विकार्नुभयो । तर संरक्षण समितिका अध्यक्ष शेरमान लिम्बूले १४ वटा मोटो र अग्लो रुखबाट ७ सयभन्दा बढी क्यूबिक फिट काठ निस्किने बताउनुभयो ।

सवडिभिजन वन कार्यालय बेलबारीका प्रमुख सहायक वन अधिकृत दिपेश मिश्रले अबैध रुपमा धार्मिक वनभित्र रुख कटान भएको र उजुरी आएपछि रेन्जर राजेन्द्र घिमिरेको नेतृत्वमा अनुसन्धान भइरहेको बताउनुभयो । ‘सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलगायतसँग बयान लिने काम सकिएको छ,’ उहाँले भन्नुभयो, ‘संरक्षण समितिले रुख कटानको भिडियोसमेत उपलब्ध गराएरकोले अनुसन्धान अन्तिम चरणमा पुगेको र अब चाँडै ट्याक्टर र रुख काट्ने मजदुरहरुलाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दर्ता प्रक्रियामा जान्छौं ।’

संरक्षण समितिले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गौतमलाई सवडिभिजन वनले पक्राउ नगरी संरक्षण गर्दै आएको आरोप लगाएको छ । सहायक वन अधिकृत मिश्रले कसैलाई जोगाउने र कसैलाई फसाउने काम कानुनले गर्न नमिल्ने हुँदा रुख काट्ने मजदुरहरुले दिएको बयानका आधारमा थप दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Back to top button