कांग्रेस क्रियाशील सदस्यता विवाद टुङगीएका जिल्लाको नामावली प्रिन्ट शुरु

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको टुङ्गो लगाएर प्रिन्ट शुरु गरीएको छ ।सुरुमा विवाद नआएका र विवाद टुंगिसकेका जिल्लाका क्रियाशील सदस्यहरुको विवरण प्रिन्ट गरिने भएको छ ।

क्रियाशील सदस्यता विवाद समाधान समितिले क्रियाशील सदस्यता टुंग्याउन निर्णय गरेका जिल्लाबाहेक निर्विवाद भएका र विवाद यसअघि नै क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याएका जिल्लाका क्रियाशीलको विवरण प्रिन्ट गर्न लागिएको हो ।

पहिलो चरणमा ४४ जिल्लाको सदस्यता प्रिन्ट हुने भएको छ । यसको जिम्मा मुख्यसचिव कृष्णप्रसाद पौडेलको नेतृत्वको टिमलाई दिइएको छ । कुन–कुन प्रेसलाई छपाइको जिम्मा दिइएको छ भन्ने विवरण भने गोप्य राखिएको छ ।

क्रियाशील सदस्यता छपाइ सकिएपछि निर्वाचन समितिलाई प्रिन्ट र सफ्ट कपी एकसाथ हस्तान्तरण हुनेछ । त्यसपछि निर्वाचन समितिले नै क्रियाशील सदस्यता विवरण प्रकाशन र सम्बन्धित ठाउँमा पठाउने काम गर्नेछ ।

केन्द्रीय निर्वाचन समितिले वडा तहको अधिवेशन थाल्नका लागि सुरुमा न्यूनतम १९ दिन समय मागेको थियो र उसले खाकासहित केन्द्रीय महाधिवेशनसम्म पुग्नका लागि ५३ दिनको समय मागेका थियो । त्यसपछि समय घटाएर निर्वाचन समितिले गरेको प्रस्तावमा न्यूनतम १५ दिन आवश्यक हुने बताइएको थियो ।

तर, क्रियाशील सदस्यता विवाद नटुंगिँदै कार्यतालिका अनुसार अब वडा अधिवेशन आउन १२ दिन मात्र बाँकी छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार निर्वाचन समितिले कार्यतालिका प्रस्ताव गर्ने नभई पार्टी दिएको निर्देशन पालना गर्नेजस्तो अवस्था देखिएको छ ।

Back to top button