प्रदेश सरकारको भनाई र गराईमा फरक, बजेटमा कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने

डिएन पथिक,
विराटनगर । महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकारको भनाई र गराईमा फरक परेको औल्याएको छ । प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि बजेटमा अनेकौं कार्यक्रम ल्याउने तर कार्यान्वयन गर्ने परिपाटी देखिएको हो ।

प्रदेश सरकारले आय व्यय अनुमानमा प्रदेश पर्यटन बोर्ड, परियोजना बैंक, जडिबुटी कम्पनी स्थापना, सुरक्षित मुद्रण प्रेस स्थापना, प्रशासनिक संगठन तथा दरबन्दी संरचना पुनरावलोकन भूमि बैंक स्थापना, कृषि अनुसन्धान केन्द्र, प्रदेश खेलकुद परिषद र चिकित्सा कोष स्थापना गर्ने उल्लेख गरेको थियो ।

तर यी मध्ये एउटा पनि कार्यान्वयनमा नआएको प्रतिवेदनमा उल्लेख छ । त्यसैले कार्यान्वयन गर्न सकिने विषयहरु मात्रै बजेटमा समावेश गर्न आर्थिक वर्ष २०७६/७७ को महालेखा परीक्षण प्रतिवेदनमार्फत सुझाव दिएको छ ।

प्रदेश सरकारको सेवा प्रवाहलाई चुस्त र भरपर्दो बनाउने उद्देश्यले अंगीकार गरिएको संघीय शासन व्यवस्था बमोजिक सेवा प्रवाहलाई व्यवस्थित गर्न महालेखाले सुझाव दिएको छ ।

वार्षिक कार्यक्रमको कार्यान्वयन अवस्था कमजोर देखिएको, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा अन्य मन्त्रालयहरुले सार्वजनिक सेवाको न्यूनतम मापदण्ड निर्धारण गरी सेवा प्रवाहलाई नियमित र व्यवस्थित गर्ने नीति, मापदण्ड र कार्यविधि बनाएर कार्यान्वयन गर्नुर्ने प्रतिवेदनमा भनिएको छ ।

सेवाग्राही सन्तुष्टी मापन तथा सेवा प्रवाहको अनुगमन लगायतको कार्य प्रदेश सरकारले गर्न नसकेकोले सेवा प्रवाह प्रभावकारी हुन नसकेको महालेखाले औल्याएको छ । त्यसैले प्रदेश सरकारलाई संस्थागत, प्राविधिक र स्रोत परिचालन क्षमता वृद्धि गरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन महालेखाले सुझाव दिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तर्जुमा गर्नुअघि अगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपणसहितको मध्यकालिन खर्च संरचना अनुसार बजेट तर्जुमा गर्नुपर्नेमा त्यस अनुसार नभएको महालेखाले औल्याएको छ ।

उक्त मन्त्रालयलाई कानुनले तोके अनुसारको मातहत कार्यालयको सम्पति तथा सरकारी बा“की रकमको लगत तयार गरी अद्यावधिक गर्न महालेखाले सुझाव दिएको छ । आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयन गर्न, तोकिएको समयभित्र एकिकृत आर्थिक विवरण महालेखा परीक्षकको कार्यालयमा पेश गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

Back to top button