नियम मिचेर प्रयोग गरेको गाडी प्रदेश १ का सभामुख द्धारा संसद सचिवालयलाई फिर्ता

विराटनगर । प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीले एउटा गाडी फिर्ता गर्नु भएको छ । विभिन्न संचारमाध्यमहरुमा समाचार प्रकासन भएपछि भण्डारीले सटुक्क कार्यालयमा एउटा गाडी फिर्ता गर्नु भएको हो ।

प्र १–१–०२–००१झ–००१० नम्बरको कार सभामुख भण्डारीले संसद् सचिवालयमा फिर्ता गरिसकेको सचिवालयका कर्मचारीहरू बताउँछन् ।

सभामुख भण्डारीले फिर्ता गरेको गाडी कार्यालयमै राख्न थालिएको छ । यता गाडी फिर्ता भएको विषयमा जानकारी लिन खोज्दा प्रदेश सभा सचिव गोपाल पराजुलीले घुमाउरो भाषा प्रयोग गर्दै गाडी कार्यालयमै रहेको जानकारी दिनुभयो । ‘माननीय ज्यू (सभामुख)ले एउटा मात्रै गाडी प्रयोग गरिरहनु भएको छ,’ पराजुलीले भन्नु भयो, ‘प्र १–१–०२–००१झ–००१० नम्बरको कार कार्यालय प्रयोजनमा प्रयोगमा आइसकेको छ । उहाँका अनुसार त्यो कार संसद सचिवालयका कर्मचारीले प्रयोग गर्न थालिसकेका छन ।

सभामुख भण्डारीले इसुजु मक्स जीप र क्रेटा कार गरी दुई वटा सवारीसाधन प्रयोग गर्ने गर्नु भएको थियो । । को १ ज ६६६ नम्बरको इसुजु मक्स जीप र प्र १–१–०२–००१झ–००१० नम्बरको कार सभामुख भण्डारीले प्रयोग गर्ने गरेको संसद् सचिवालयले लिखित जानकारी गराएको थियो ।इसुजी मक्स जीप १ करोड ३६ लाख ९० हजार रुपैयाँ र कार ३८ लाख ४६ हजार १ रुपैयाँमा खरिद गरिएको सचिवालयले जनाएको छ ।
सभामुख भण्डारीले एउटा मात्रै गाडी प्रयोग गर्ने गरेको दाबी गर्दे आउनु भएपनि कार्यालयले भने दुईवटै गाडि उहाँलेनै प्रयोग गर्ने गरेको जनाएको थियो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सभामुखले एउटा गाडी सुविधा पाउने व्यवस्था गरिएको छ । ऐनको अनुसूची १ मा पदाधिकारी तथा सदस्यले पाउने सुविधामा उल्लेख गरिएको छ । तर आफैंले बनाएको कानुन मिचेर उहाँले दुई वटा गाडी प्रयोग गर्दै आउनु भएको थियो ।

Back to top button