काँग्रेसमा क्रियाशील सदस्यता विवाद किनारा लाग्दै

काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ । हिजो क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद किनारा लागेको हो ।

छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो ।

उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो । उक्त उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट थियो । तर उक्त समितिले सहमति जुटाउन सकेन ।

त्यसपछि देउवा , पौडेल र महत बाहेकका नेताहरूलाई क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मेवारी दिइएको छ । साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाउनु भएको हो । विवाद समाधान भएसँगै नेतात्रयले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाउनु भएको छ ।

Back to top button