यो साताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष यादव

सर्वोत्तम शर्मा,

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यो साताभित्र सरकारले पूर्णता पाउने बताउनु भएको छ ।

जनता समाजवादी पार्टीको मोरङ जिल्ला कार्य समितिले बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने कारणहरुको अन्त्य भइसकेकोले चाँडै मन्त्रीपरिषदले पूर्णता पाउने बताउनुभयो । कसले कति मन्त्रालय पाउने विषय गठबन्धन भित्र आपसी छलफल गरेर चाँडै टुङ्गो लगाइने भन्दै उहाँले भन्नुभयो,‘ अहिले नै कुन पार्टीले कति वटा मन्त्रालयल लिने भन्ने तय भइसकेको छैन ।’

कोरोना महामारी , धाराशायी अर्थतन्त्र र राजनीतिक रुपले अत्यन्तै अस्थिर रहेको वर्तमान अवस्थामा मुलुकमा देखा परेका चुनौतीहरुको सामना गर्नका लागि सरकारलाई सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले संसद अन्त्य गर्ने र अध्यादेश ल्याइहाल्ने प्रणालीलाई समेत हटाउनु पर्नेमा जोड दिनुभयो ।

संसदीय व्यवस्थामा संसदलाई नै क्रियाशील बनाएर आवश्यक ऐन निर्माण गर्नु नै उपयुक्त हुने अध्यक्ष यादवले बताउनुभयो । अध्यादेश नभई नहुने र गर्नैपर्ने अवस्था भएको तर कानुन नभएको बेला मात्र ल्याइनुपर्ने भन्दै उहाँले भन्नुभयो,‘ तर यहाँ त हरेक काममा संसद बन्द गरेर अध्यादेश ल्याइन थालियो , यो चलनलाई नै बन्द गर्नुपर्छ, यो अध्यादेशलाई तुरुन्त खारेज गर्नुपर्छ ।’

यस्तो किसिमको घातक प्रावधानहरु बोकेर हिड्न नहुने भन्दै उहाँले दल विभाजन सम्बन्धि अध्यादेश तत्काल सरकारले खारेज गर्नुपर्ने बताउनुभयो । अध्यादेशमार्फत राजनीतिक गतिविधिहरु गर्नु सबैभन्दा अप्रिय काम हो भन्दै उहाँले यस्ता कार्यहरुलाई रोक्नैपर्ने बताउनुभयो । यसबाट राजनीतिक अस्थिरता जन्मिने उहाँले बताउनुभयो ।

आफुहरुले पूँजिवादी लोकतन्त्र, अधिनायकवादी साम्यवादको विरुद्धमा समाजवादी लोकतन्त्रलाई हामीले अगाडि बढाएका भन्दै अध्यक्ष यादवले आफुहरुले उठाएका विषयलाई अरुले पनि आत्मसात गर्दै गएको बताउनुभयो । अल्पविकसित मुलुकहरुमा राजनीतिक दलहरु फुट्ने र मिल्ने भइरहने भन्दै उहाँले यसलाई नयाँ बिषयका रुपमा बुझ्न नहुने बताउनुभयो ।

‘कांग्रेस र कम्युनिष्ट पार्टी पनि कैयौं पटक फुटेका छन्’, उहाँले भन्नुभयो,‘बहुदलीय लोकतन्त्रमा मिल्ने र फुट्ने प्रक्रिया स्वभाविक हो ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने नै यो सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएका अध्यक्ष यादवले संविधान जारी भएकै दिन जलाएर आफुहरुले विरोध गरेको र अहिले सवैले धेरै त्रुटी रहेको स्विकारीसकेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘त्रुटीहरुलाई सच्याउनु पर्ने र सुधार गर्नुपर्नेमा आम जनमत नै बनिसकेको छ, तर कुन बेला के सम्भव छ त्यो गर्दै अघि बढ्ने हो ।’ संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक पर्ने उल्लेख गर्दै उहाँले यद्यपी आफुहरु संविधान संशोधनको प्रयासमा रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवले स्थानीय तहलाई प्रदेश मातहत ल्याउनु पर्नेमा जोड दिनुभयो । संसारभरका संघीयता भएका मुलुकहरुमा प्रदेश मातहत स्थानीय तहहरु रहेको भन्दै उहाँले नेपालमा पनि स्थानीय तहलाई प्रदेश मातहतमा ल्याउनुपर्ने तर्क गर्नुभयो । उहाँले गठबन्धन कहिलेसम्म रहन्छ भन्ने जिज्ञासामा लोकतन्त्रलाई धरापमा पार्ने प्रतिगमनको खतरा रहे सम्म लोकतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक शक्तिहरुबीचको गठबन्धन कायम रहने बताउनुभयो ।

Back to top button