कांग्रेस महाधिवेशन : दोलखा सहित ३८ जिल्लाको क्रियाशील सदस्यता सूची निर्वाचन समितिमा

काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् ।

१४ औं महाधिवेशन प्रक्रिया सुरु हुन ८ दिन मात्रै बाँकी छ । तर ७७ जिल्लामध्ये ३९ जिल्लाको क्रियाशील सदस्यको नामावली अन्तिम चरणमा पुगेको एक नेताले बताए । ‘अरु जिल्लाको काम पनि भइरहेको छ, अब चाँडै त्यसलाई  अन्तिम रुप दिन्छौं,’ ती नेताले भने, ‘समयमै क्रियाशील सदस्यता सूची वडा तहमा पुग्छ ।’

निर्वाचन समितिलाई वडा, पालिका, क्षेत्रीय (प्रदेश र प्रतिनिधिसभा) र जिल्ला अधिवेशनका लागि चारप्रति क्रियाशील सदस्य नामावली बुझाएको छ ।

निर्वाचन समितिलाई बुझाइएको क्रियाशील सदस्यको नामावलीमा प्रदेश १ का १० जिल्ला छन् । ताप्लेजुङ,  पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ,  सोलुखुम्बु,, ओखलढुंगा,  उदयपुर,  झापाको क्रियाशील सदस्यता निर्वाचन समितिले बुझेको छ ।

बागमती प्रदेशअन्तर्गत दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ भने गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको सदस्यता सूची बुझाइएको छ ।

लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, पाल्पा, रुकुम पूर्वी र रोल्पाको क्रियाशील सदस्यता टुंगो लागेको छ भने कणर्ाली प्रदेशका रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला तथा सुुदूरपश्चिम प्रदेशमा बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यताको अन्तिम सुची निर्वाचन समितिलाई बुझाइएको छ ।

क्रियाशील सदस्य नामावली पाए लगतै निर्वाचन समितिले साँझ मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले कार्यतालिका अनुसार तोकिएकै मितिमा वडा अधिवेशन सुरु गर्ने गरी काम अगाडि बढेको बताए । ‘भदौ १८ गते वडा अधिवेशन गर्ने गरी काम गरिहेका छौं,’ उनले भने,  ‘क्रियाशील सदस्यता पाउने वित्तिकै मतदान अधिकृतलाई सम्बन्धित जिल्लामा पठाउँछौं ।’- अन्लाईन खबर बाट

Back to top button