ओवी मिडियामाथि क्लासिक टेकको प्रतिबन्ध तत्काल हटाउन पत्रकार महासंघको चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई ओबी मिडीया माथि लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ ।

ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दीको समाचार प्रकाशन गरेको विषयलाई लिएर प्रतिबन्ध लगाएको थियो ।

महासंघ मोरङका सचिव नेत्र पि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमा प्रकाशित समाचारबारे चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार हुँदा हुँदै सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन् भएको उल्लेख गर्नुभएको छ ।

‘‘तत्काल क्षमा माग्दै प्रतिवन्ध हटाउन ध्यानाकर्षण गराउनु चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ । महासंघले विषयप्रति गम्भिर नबने जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी समेत दिएको छ ।

विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार आवर विराटनगर डटकमले प्रकाशित गरेको थियो । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले क्लासिक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए ।

Back to top button