गठबन्धनका ५ दलको भोली बैठक बस्ने, मन्त्रालयको भागबण्डा टुङ्ग्याएर मन्त्रीपरिषद विस्तार गरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालबीच भोली ५ दलीय गठबन्धनको बैठक बस्ने सहमति भएको छ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन नेताबीचको छलफलमा यस्तो सहमति भएको हो । आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिन भोली सत्ता गठबन्धनको बैठक बस्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा मन्त्रालयको भागबण्डाका बिषयमा तीन नेताबिच कुराकानी भएको छ । भोली त्यसलाई मुर्त रुप दिन गठबन्धनका सवै दलबिच छलफल गरेर टुङ्ग्याउने आन्तरीक सहमति भएको हो । सहमती कायम भएसँगै मन्त्रीपरिषद विस्तार गर्ने गठबन्धनका तीन दलका शिर्ष नेताबिच सहमति जुटेको छ ।

नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएको डेढ महिना भइसकेको छ । यद्यपी अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । माधव नेपाल नेतृत्वमा नयाँ पार्टी दर्ता भएपछि सरकारलाई पूर्णता दिने तयारीमा सत्तारुढ दल जुटेको हो ।

प्रधानमन्त्रीको सपथसँगै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई जना मन्त्रीले पनि शपथ लिनुभएको थियो भने त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

त्यसबाहेक अहिलेसम्म मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आउनुभएको छ ।

Back to top button