प्रदेश १ का स्थानीय तहमा ५ अर्ब १२ करोड बेरुजु

विराटनगर । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेददनमा प्रदेश १ का स्थानीय तहमा ५ अर्ब १२ करोड ४८ लाख पेस्की बेरुजु औल्याएको छ ।

महालेखाले यस प्रदेशका १३७ मध्ये १३३ स्थानीय तहमा भएको १ खर्ब ६१ अर्ब ४१ करोड ८० लाखको लेखापरीक्षण गर्दा ३ दशमलव १७ प्रतिशत अर्थात् ५ अर्ब १२ करोड ४८ लाख पेस्की बेरुजु औल्याएको हो । जसमध्ये असुल उपर गर्नुपर्ने र अनियमित ४ अर्ब ४७ करोड २२ लाख र पेश्की ६५ करोड २६ लाख रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रदेशका एक मात्र महानगरपालिका विराटनगरले गरेको आयव्यय १३ अर्ब ४८ करोड ८७ लाखको लेखापरीक्षण गर्दा ३ दशमलव ४१ प्रतिशत अर्थात् ४६ करोड ३ लाख बेरुज औल्याएको छ । महानगरको हालसम्ममा १ अर्ब १६ करोड ७८ लाख बेरुजु महालेखाले औल्याएको हो ।

यस प्रदेशस्थित धरान र इटहरी गरी दुई उपमहानगरपालिकामा यस वर्ष २४ करोड ५४ लाख बेरुजु औल्याएको छ । धरानमा यस वर्षको १२ करोड २७ लाखसहित हालसम्ममा २० करोड १७ लाख बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ । इटहरी उपमहानगरमा पनि यस वर्ष १२ करोड २७ लाखसहित हालसम्ममा ४९ करोड ६ लाख बेरुजु महालेखाले औल्याएको छ ।

प्रदेश १ स्थित ४५ वटा नगरपालिकामा महालेखाले ७० अर्ब ९० करोड ८५ लाख आयव्ययको लेखापरीक्षण गर्दा २ दशमलव९१ प्रतिशत अर्थात् २ अर्ब ६ करोड ४६ लाख वेरुजु औल्याएको छ जसमा असुल गर्नुपर्ने र अनियमित १ अर्ब ७६ करोड ९३ लाख र पेश्की २९ करोड ५३ लाख रहेको छ ।

यस्तै, यस प्रदेशको ८५ वटा गाउँपालिकाले गरेको ६९ अर्ब ९३ करोड ५१ लाख आयव्ययको महालेखखाले लेखापरीक्षण गर्दा ३ दशमलव ३८ प्रतिशत अर्थात् २ अर्ब ३६ करोड ५९ लाख बेरुजु औल्याएको छ । जसमा असुल गर्नुपर्ने र अनियमित २ अर्ब १० करोड ३८ लाख र २६ करोड २१ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रदेशका झापाको बिर्तामोड नगरपालिका, धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिका र मोरङको कटहरी गाउँपालिकाको कोभिड १९ महामारी एवं लेखा तथा श्रेस्ता पेश नभएकोले लेखापरीक्षण गर्न बाँकी रहेको महालेखाले जनाएको छ ।

यस प्रदेशका ३० स्थानीय तहले तोकिएको समयमा बजेट पेस नगरेको प्रति महालेखाले प्रश्न उठाएको हो । समयमै बजेट पेस तथा पारित नहुँदा भएको आम्दानी र खर्चले वैधता नपाउने भएकोले कानुनको पालना गर्न महालेखाले पालिकाहरुलाई भनेको छ ।

Back to top button