मोरङका स्थानीय तहका दुइ प्रमुख र एक उपप्रमुख एकीकृत समाजवादी तिर

विराटनगर । मोरङका दुई थानीय तहका प्रमुख र एक उप प्रमुख नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी ( एस) मा लागेका छन । तत्कालिन नेकपा एमालेबाट चुनाव लडेर जितेका दुई प्रमुख र एक उपप्रमुख एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी (एस) तिर लाग्नुभएको हो ।

एसका केन्द्रीय सदस्य महेश रेग्मीका अनुशार बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिका प्रमुख किशोरकुमार राई दिलिप र केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति भुजेलले एकीकृत समाजवादीमा खुल्नुभएको हो । उहाँहरु तीनै जना नेकपा एमालेभित्र रहँदा माधवकुमार नेपाल निकट हुनुहुन्थ्यो ।

एस का केन्द्रीय सदस्य रेग्मीले प्रदेश सांसदको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएपछि स्थानीय तहका जनप्रतिनिधिहरू थप खुल्ने बताउनुभयो । यद्यपि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले अहिले निर्णय गरिनसकेको बताउनुभएको छ । यस्तै बेलबारीका प्रमुख सुबेदीले पनि निर्णय गरिनसकेको बताउनुभयो ।

दल फुटेपछि २१ दिनभित्रमा नयाँ पार्टीमा जानेले दल छान्नु पर्ने कानुनी ब्यवस्था रहेको छ । त्यहि अनुसार भदौ २२ भित्रमा राजनीतिक दल छानिसक्नु पर्नेछ । नेकपा एमाले हुँदा मोरङमा माधव नेपाल पक्षमा खुलेका स्थानीय तहका जनप्रतिनिधिहरू अहिले अलमलमा परिरहेका छन्।

मोरङको १७ स्थानीय तहमध्ये एमालेले बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी, मिक्लाजुङमा प्रमुख र उप–प्रमुख दुवै पदमा जितेको थियो । त्यस्तै ग्रामथानमा प्रमुख, लेटाङ, केराबारी, सुन्दरहरैँचा, उर्लाबारी, रतुवामाईमा उपप्रमुख एमालेका उमेदवारले जितेका थिए ।

कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले र मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्य भने एमालेमा नै रहनुभएको छ । एमालेबाट जितेका उप–प्रमुखहरूमध्ये केराबारी गाउँपालिकाकी उपाध्यक्ष मात्रै एसमा लाग्नुभएको हो । ग्रामथान गाउँपालिका प्रमुख शिवनारायण माझी भने अहिलेसम्म कुनैपनि भेला बैठकमा जानुभएको छैन ।

Back to top button