निजी विद्यालय असोज १ देखि खोल्ने तयारी, भौतिकरुपमै विद्यालय सञ्चालन गर्न नसक्दा विद्यार्थीको सिकाई क्षमतामा ह्रास आयो अध्यक्ष :पुरी

विराटनगर ।झन्डै डेढ बर्ष भयो । शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालय जान सकेका छैन्न । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय नखुलेको १७ महिना भइसकेको छ । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।

शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनलाइन कक्षा सञ्चालन गरेको भए पनि ग्रामीण क्षेत्रमा बस्ने अधिकांशको पहुँचमा पुगेको छैन अनलाइन कक्षा । किनभने, कम्तीमा २ सन्तानका लागि ल्यापटप वा मोबाइल, मोबाइल डाटा वा इन्टरनेटको आवश्यकता पूरा गर्न सक्ने हैसियत सबै अभिभावकसँग छैन । त्यसबाहेक ग्रामीण भूभागका कतिपय स्थानमा मोबाइलको नेटवर्कसम्म छैन भने इन्टरनेटको पहुँच त अझै टाढाको विषय भयो ।

कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । विद्यालय बन्द भएको करिब ३ महिनापछि केही विद्यालयमा अनलाइन विधिबाट पठनपाठन सुचारु भएको भए पनि अहिलेसम्म पनि धेरै विद्यार्थीले अनलाइन कक्षा लिन पाएका छैनन् भने कैयन् शिक्षक र विद्यार्थीलाई अनलाइन कक्षाबारे जानकारीसम्म छैन ।

उता, कोरोनाको डरका कारण केही सरकारी शिक्षकले त घरमै बसीबसी आरामसँग तलब खाइरहेका छन् । केही सरकारी विद्यालयले सम्भव भएसम्म भौतिकरुपमै पठनपाठन गरिरहेका छन् भने केही विद्यालयले रेडियो, स्थानीय टेलिभिजन आदिका माध्यमबाट पनि पठनपाठनलाई निरन्तरता दिइरहेका छन् ।

तर, भौतिकरुपमै विद्यालय सञ्चालनमा नआएसम्म विद्यार्थीको सिकाइमा एकरुपता आउन नसक्ने र सिकाई उपलब्धीमा धेरै नै फरक पर्ने शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला भन्नुहुन्छ, ‘सिकाइ उपलब्धीमा कत्तिको अन्तर पर्यो भन्ने कुरा त अहिले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको क्षमता हेर्दा भइहाल्छ नि ।’

                            भौतिकरुपमै विद्यालय खोल्ने मागसहितप्याब्सनको निवेदन

गोकर्णेश्वर जस्तै स्थानीय तहमा मात्रै होइन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले पनि करिब ३ साताअघि शिक्षा सचिवलाई भेटेर भौतिकरुपमै विद्यालय खोल्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । उनीहरुले निवेदन नै दिएर शिक्षा सचिव र स्वास्थ्य राज्यमन्त्रीलाई विद्यालय सञ्चालनको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

जवाफमा स्वास्थ्य राज्यमन्त्री र शिक्षा सचिवले स्वास्थ्य मापदण्डको पालना गर्नेगरी विद्यालय सञ्चालनको अनुमति स्थानीय तहलाई नै दिएको भन्दै स्थानीय तहबाटै अनुमति लिएर विद्यालय सञ्चालन गर्न भनेको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बताउनुभयो। ।

प्याब्सनका अध्यक्ष टिकाराम पुरी भौतिकरुपमै विद्यालय सञ्चालन गर्न नसक्दा विद्यार्थीको सिकाई क्षमतामा ह्रास आएको बताउँनुहुन्छ । । विद्यालयमै गएर पढ्ने विद्यार्थीले जति सिक्छन्, अनलाइनका माध्यमबाट पढ्ने विद्यार्थीले सोही क्षमतामा सिकाई उपलब्धी हासिल गर्न गाह्रो भएको पुरीले बताउनु भयो ।
कोरोना संक्रमणको जोखिम कम भएको स्थानीय तहमा भदौ १५ गतेदेखि नै र पूर्वाधार तयार गर्नुपर्ने अन्य स्थानीय तहहरुमा ढिलोमा असोज १ गतेदेखि विद्यालय सञ्चालनका लागि काम भइरहेको पुरीको भनाईरहेको छ । ।

पुरीका अनुसार शहरी क्षेत्रका विद्यालय, विद्यार्थी र अभिभावकसँग अनलाइन कक्षा लिने क्षमता र स्रोत तथा साधन भए पनि ग्रामिण क्षेत्रका विद्यालय, अभिभावक तथा बालबालिकासँग त्यस्तो व्यवस्था नभएको भन्दै यदि अहिलेकै अवस्थामा अनलाइन कक्षा सञ्चालन गरिरहने हो भने पछि शहरी क्षेत्र र ग्रामिण क्षेत्रका विद्यार्थीको सिकाइमा व्यापक अन्तर आउने छ । जसका कारण कक्षा ११ मा पुगेपछि शहरी क्षेत्र र ग्रामिण क्षेत्रका विद्यार्थीले समान सिकाई उपलब्धी प्राप्त गर्न नसक्ने र कमजोर कमजोर बन्दै जाने समस्या बढ्ने पुरी बताउँनुहुन्छ । अहिले अमेरिका लगायतका कतिपय विकसित मुलुकहरुले भौतिकरुपमै विद्यालय सञ्चालन गर्न थालेको भन्दै नेपालले पनि अब बिस्तारै भौतिकरुपमै विद्यालय सञ्चालन गर्नुपर्ने पुरीको भनाई छ ।

Back to top button