प्रदेश १ मा ६७१ प्रहरी जवान दिक्षित

विराटनगर । प्रदेश १ प्रहरी तालीम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औं समूहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवान दिक्षित भएर आ–आफ्ना कार्य क्षेत्रमा खटिनु भएको छ ।

२०७७ मंसिर ३ गतेदेखि सञ्चालित प्रहरी जवानको २ सय ३४ कार्य दिनको आधारभूत तालिमपछि आज प्रशिक्षार्थीहरूलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले दिक्षित गर्नुभएको हो । तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरु दिक्षित हुनुभएको हो ।

दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले तालिम अवधिमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यामान कानुन र प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भयो ।

दिक्षान्त समारोहमा प्रशिक्षार्थी प्रहरी जवानहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले सपथ ग्रहण गराउनु भयो ।

प्रशिक्षार्थीहरुमध्ये प्रहरी जवान उतम कुमार मगर सर्वोत्कृष्ट हुनुभएको छ । यस्तै, विभिन्न ८ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

प्रहरी नायव महानिरीक्षक अरुणकुमारले कोभिड १९ ले उत्पन्न असहज परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गर्नु भयो ।

उहाँले कार्यक्षेत्रमा मन, वचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादार भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई निर्देशन दिनुभयो ।

Back to top button