अमेरिकन पेस्तोलसहित कानेपोखरी बाट दुई जना पक्राउ

विराटनगर ।अमेरिकन पेस्तोलसहित मोरङबाट मंगलबार राति दुई जनालाई पक्राउ परेका छन्। कानेपोखरी गाउँपालिका–६ शिवालय चोकका ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो। घरमा हतियार लुकाएर राखेको विशेष सूचनाका आधारमा पुगेको सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुमा क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । क्षेत्रीको घरमा छापा मार्दा मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

त्यसलगत्तै पक्राउ गरिएका क्षेत्रीकै सूचनाका आधारमा बोहोरालाई पनि पक्राउ गरिएको मोरङ प्रहरी प्रबक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले हतियार कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको एवं दुई जनाबीचको ‘कनेक्सन’ कस्तो खालको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button