प्रदेश १ मा एमालेले १० बुंदे सहमति कार्यान्वयनका लागि थाल्यो प्रक्रिया

विराटनगर ।प्रदेश १ मा नेकपा एमालेले पार्टी विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन प्रक्रिया आजबाट सुरु गरिएको छ ।

स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयले एमालेले २०७५ जेठ २ कै पार्टी संरचनाअनुसार प्रदेश इन्चार्जको भूमिकामा रहेका नेतालाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश १ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङलाई जिम्मेवारी दिएको हो ।

नेम्वाङको उपस्थितिमा आज बसेको बैठकले यो महिनाभित्रमा जिल्ला–जिल्लाको बैठक गरी जिल्ला भेलाहरु आयोजना गरिसक्ने निर्णय गरिएको एमालेका प्रदेश १ का सचिव विनोद ढकालले बताउनुभयो ।

उहाँले पार्टी एकता हुनुभन्दा अगाडिका प्रदेश १ का पदाधिकारीहरुलाई आधार मानेर जिल्ला तथा स्थानीय तहका बैठकहरुको आयोजना गर्ने, एकतापछिका पदाधिकारीहरुलाई पनि बैठकमा सहभागी गराउने र १० बुंदेलाई पूर्णतः कार्यान्वयन गर्ने सहमतिका साथ अघि बढने निर्णय गरिएको बताउनु भयो ।

उहाँले एमालेका केही प्रदेश सांसदहरु निर्वाचन आयोगको कार्यालयमा पार्टी छोडेको निवेदन दिनुभएको तर अहिले नै मान्यता पाइनसकेकोले प्रदेशसभामा अझै एमालेको एकल बहुमत कायमै रहेको बताउनुभयो ।

‘२२ गतेसम्म निर्वाचन आयोगमा दल रोज्नका लागि निवेदन दिने समय रहेको र त्यसपछि एक साताभित्रमा आयोगले मान्यता दिएपछि दल जन्मिन्छ,’ ढकालले भन्नुभयो, ‘त्यसपछि एमाले अल्पमतमा पर्‍यो भने सरकारको विषयमा के गर्ने बारेमा त्यति बेलै छलफल हुन्छ ।’

Back to top button