विभिन्न पार्टी त्यागेर धनपालथानमा तीनसय जना एमालेमा प्रवेश

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरेर तीनसय जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले धनपालथान गाउँकमिटीको आयोजनामा भएको वृहद पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतका विभिन्न पार्टीमा रहनुभएका अगुवा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित, नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेललगायतका नेताहरुले पार्टी प्रवेश गराउनुभएको हो ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै नेकपा एमालेका नेता लालबाबु पण्डित नेकपा एमाले नयाँ गतिबाट अघि बढेको भन्दै अब मुलुकको नेतृत्व नै एमालेले गर्ने बताउनुभएको छ ।

पार्टी भित्र रहेका केहि लोभिपापी र अवसरवादीहरुले अर्कै बाटो रोजेपछि नेकपा एमाले आफै शुद्धिकरण भएको बताउँदै नेता पण्डितले अब एमालेभित्र अनुशासित, जनताप्रति जवाफदेहि नेता कार्यकर्ता मात्र बाँकी रहेको बताउनुभयो ।

अब एमालेमा नेता कार्यकर्ता अनुशासित र जनताप्रति उत्तरदायी मात्र छन्, उहाँले भन्नुभयो,‘त्यसैले जनलहर पनि एमालेतिर नै रहेको नव प्रवेशीहरुको लहरले पुष्टि हुन्छ ।’

उहाँले अब देश र जनताको भविष्यका लागि नेकपा एमाले नेतृत्व नै अपरिहार्य रहेको भन्दै अबका तीन वटै तहका निर्वाचनमा एमालेले अत्यधिक बहुमत ल्याउने दावी गर्नुभयो । नेता पण्डितले भन्नुभयो,‘स्थानीय तह, प्रदेश र संघीय तीनै तहका निर्वाचनमा एमाले अत्यधिक बहुमतका साथ विजय हुन्छ र समृद्द नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई सार्थक बनाई छाड्छ ।’

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै सवैको योग्यता र क्षमताको आधारमा पार्टीमा जिम्मेवारी दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले विधि र प्रकृयाबाट चल्ने पार्टी हो, त्यसैले सवैलाई उत्साहका साथ जनताको हितमा काम गर्ने गरि जिम्मेवारी दिइनेछ ।’

कार्यक्रममा नेकपा एमालेका नेताहरु ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल, सैयद आलमलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Back to top button