हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिए

काठमाडौं हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन्।

उनीहरू सैनिक विशेष अदालतबाट शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन्।

सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो।

सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चितवनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो।

लव र सरोजले चोरी गरेको भनिएको र भरतको हत्यामा प्रयोग भएको हतियार १००७९२ र वट नं ख २५० एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो। हत्याको आरोप लागेका गंगाधरविरूद्ध बिहीबारको फैसलाले २५ वर्ष कैद तोकेको छ।

लव र सरोज भरतपुर कारागारमा रहनुभएको थियो । सेनाको कालिबहादुर गणको आग्रहपछि दुवै जनालाई कारागारले सेनालाई बुझाएको थियो।

निर्दोष ठहरिएसँगै उहाँहरूको जागिर पुनर्बहाली हुने भएको छ। तर ड्युटीको समयमा अन्य साथीलाई ड्युटी छाडेर आफूहरू दोहोरी साँझ गएको आरोपमा बढुवा भने ३ वर्षका लागि रोकिएको छ।

०७५ साल पुस ४ गते हतियार चोरेको आरोप लव र सरोजमाथि थियो।

Back to top button