२८ वर्षे इतिहास ब्रेक गर्दै दोलखामा कुन्दनराज काफ्ले विजयी

श्री कृष्ण काफ्ले / दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभा सदस्यमा भारी मतान्तरका साथ विजयी भएका छन् । लोकप्रिय युवा नेताका रुपमा परिचीत काफ्ले दोलखा प्रदेश (क) बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । मंसिर ४ गते भएको निर्वाचनमा बिबादका  कारण १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो । मतदानपश्चात् आज सम्पन्न भएको मतगणनाअनुसार कांग्रेसबाट उमेदवार बनेका काफ्ले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । काफ्लेले नेकपा (एमाले)का उमेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् ।अन्तिम मतपरिणामअनुसार काफ्ले सात हजार ८७५ मतान्तरले विजयी भएका हुन् । काफ्लेले २३ हजार २३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रहेका एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे ।

काफ्ले प्रदेशमा विजयी भएसँगै २८ वर्षपछि कांग्रेसले दोलखामा आफ्नो शाख फर्काएको छ । २०५१ सालको उपनिर्वाचनमा स्व. भीमबहादुर तामाङ निर्वाचित भएका थिए । त्यसपश्चात् दोलखामा कांग्रेसका कुनै पनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका काफ्ले स्ववियु सदस्य हुँदै ०५७ सालमा पशुपति क्याम्पसको स्ववियु सचिव र सोही क्याम्पसमा ०६० सालमा स्ववियु सभापति बनेका थिए । ०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका काफ्ले ०७३ सालमा केन्द्रीय महामन्त्री निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस १३ औँ महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बन्दा १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

Back to top button