वडामै गएर योजना सम्झौता गर्दै तामाकोसी गाउँपालिका

सुजन काफ्ले                                              चरीकोट, फागुन ५ गते
दोलखाको तामाकोसी गाउँपालिकाले वडावडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०७९∕८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समिति मार्फत गरिने योजनाहरु वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ।
गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न सुरु गरिएको तामाकोसि गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरिले जानकारी दिनुभयो ।
’पालिकाले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गरिएको छ’, उहाँले भन्नुभयो , ’प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ।’
७ वटा वडा रहेको पालिकाका हालसम्म २ वटा वडामा सम्झौता गर्ने कार्य सकिएको छ भने बाँकी रहेका वडामा सम्झौता अन्तिम प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ ।
एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको गिरिले बताउनुभयो।’

सरोकारवाला सबै वडामै भेला भएर आ–आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ’, उहाँले भन्नुभयो , ’यो एक प्रकारको घुम्ती सेवा जस्तै हो, उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै कार्यालयमा आए पुग्छ, एउटै कामका लागि पटक–पटक आइरहनुपर्दैन।’ यो आर्थिक वर्षमा पालिकामा २४९ योजना तथा कार्यक्रम रहेको तामाकोसी गाउँपालिकाले जनाएको छ।

Back to top button