शैलुङ थुम्कामा बोधिचैत्य छ्योर्तेन निर्माण

चरीकोट,फागुन १८ गते

दोलखाको शैलुङ थुम्कामा शैलुङ बोधिचैत्य छ्योर्तेन निर्माण गरिएको छ । दोलखा र रामेछाप जिल्लाको संगमस्थल शैलुङडाँडामा निर्माण गरिएको उक्त शैलुङ ज्याङ्छयुब छयोर्तेनको बुधबार उद्घाटन गरिएको हो ।
धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल शैलुङमा छयोर्तेन टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सदिक्षा र संरक्षणमा शैलुङ रिगसुम गोन्पो सेवा समाजद्धारा निर्माण सम्पन्न भएको शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कृष्ण कुमार थोकरले बताउनु भयो ।
उक्त छयोर्तेन एक समारोहकोबीच शैलुङ ज्याङ्छयुब (बोधिचैत्य) को प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका शरण नायक परमपावन गुरु क्याब्जे सेचेन रब्ज्याम रिपोन्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठानसहित शुद्धिकरण सुप्राणप्रतिष्ठा गरिएको थोकरले बताउनुभयो ।
शैलुङ बोधिचैत्य निर्माणको लागि दोरम्बा–शैलुङ गाउँपालिका रामेछाप, दोलखाको शैलुङ र मेलुङ गाउँपालिका, जनप्रतिनिधिहरु, लोपेन सोनाम लामा, शैलुङ शेर्पा समाज र सर्वसाधारणले समेत सहयोग रहेको छ ।
२०७३ भदौ २३ गतेबाट निर्माण कार्य थालनी गरिएको थियो । उक्त छयोर्तेन करिब तीन करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको थोकरले बताउनु भयो ।

Back to top button