अझै पाएनन तामाकोसीका विद्यार्थीले दिवा खाजा बापतको रकम

 चरीकोट, फागुन १८ गते । 

 सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा दिन सम्बन्धित निकायलाई निर्देशन दिएको लामो समय बितिसक्दा पनि तामाकोसी गाउँपालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले दिवा खाजाको रकम पाएका छैनन् ।

गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दैनिक १५ रुपियाँका दरले  खाजा बापतको रकम केन्द्रबाट पठाएको भए तापनि सो रकम आठ महिना बितिसक्दा पनि हालसम्म ती बालबालिकाले सो रकम पाउन सकेका छैनन् ।

बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीले दिवा खाजा बापतको रकम नपाएको विद्यालयका प्रधानाध्यापक गुनासो गरेका छन् । गएका वर्षमा चौमासिक रूपमा खाजा बापतको रकम आउने गरेकोमा यो वर्ष अहिलेसम्म नआएको अभिभावक राजकुमार माझीले बताउनुभयो । आफ्नो दुई जना बच्चाको खाजाबापत आउने रकमबाट छोराछोरीलाई विद्यालयमा खाजा पठाउने गरेकोमा यो वर्ष समयमा रकम नआउँदा समस्या भएको उहाँको भनाइ छ ।

तामाकोसी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत करिब १५ सयभन्दा बढी विद्यार्थीले खाजा बापतको रकम पाउनेगरेका छन् । ती बालबालिकालाई आएको रकम हालसम्म वितरण गरिएको छैन । उक्त खाजा कार्यक्रमले बालबालिकाहरू नियमित रूपमा विद्यालय आउन पनि मद्दत गर्ने विश्वास विद्यालयको रहेको छ ।

पालिकाले आठ महिनादेखि दिवा खाजाको रकम निकासा भएको छैन । विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ । तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजाको साटो खाजा बापतको रकम दिनेगरेका छन् । दिवा खाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ ।

बालबालिकाको वृद्धि र विकासका लागि खाना अनिवार्य तत्त्व हो । पोषणयुक्त खाना खाए मात्र स्वस्थ जीवन सुरु हुन्छ । विद्यालयमा आएका बालबालिकालाई पोषणयुक्त खाजा व्यवस्था गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीका लागि नेपाल सरकारले बजेटको व्यवस्था लामो समयदेखि गर्दैआएको छ ।

यता तामाकोसी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख मेनुका बास्कोटाले प्रमुख प्रशासकीय अधिकृत नभएका कारण खाजा बापतको रकम निकासा नभएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत आएपछि निकासा गरिने उहाँले बताउनुभयो । गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत आएको पनि एक महिना बढी समय भएको स्थानीयको भनाइ छ ।

Back to top button