पञ्चेबाजा संरक्षण अभियानमा भिमेश्वरका महिला

भीमेश्वर नगरपालिका–५ का पञ्चेबाजा आमा समूहका महिलाहरु । तस्बिर : सुजन काफ्ले

 

सुजन काफ्ले
चरिकोट, फागुन २२ गते ।
नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्धन गर्न विभिन्न निकाय संरक्षण गर्ने अभियानमा जुटेका छन् ।

झट्ट सुन्दा अचम्म लाग्छ, महिला पञ्चेबाजा बजाउँछन् भन्दा, त्यसमा पनि ब्राह्मण र क्षत्री समुदायका महिला । तर अहिले पञ्चेबाजा भीमेश्वर नगरपालिका–५ माटीका ब्राह्मण र क्षत्री समाजका महिलाले पञ्चेबाजा बजाउन थालेका छन् । परम्परागत रुपमा पञ्चेबाजा बजाउने समुदायको सङ्ख्या घट्दै गएपछि सो भेगका ब्राह्मण, क्षत्री र दलित समुदायका महिला पञ्चेबाजा संरक्षण अभियानमा लागेका हुन् ।

भीमेश्वर नगरपालिका–५ का पञ्चेबाजा आमा समूहका महिलाहरु पञ्चेबाजा घन्काउन थालेका हुन् । आफैं बाजा बजाउने आँट मात्र गरेनन् महिलाहरुले बाजाको संरक्षणमा समेत लागेका छन् ।

केही समय यता जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा महिलाले नै पञ्चेबाजा बजाउने गरेका छन् । एकै पोशाकमा सजिएका महिलाहरुले पञ्चेबाजा बजाउन थालेपछि जिल्लामा आयोजना हुने प्रायः कार्यक्रममा बाजा बजाउनका लागि महिला पञ्चेबाजा समूहलाई नै बोलाउन थालिएको छ । जिल्लामा आउने पाहुनहरुको स्वागतमा पनि महिलाले नै बाजा बजाउँदै आएका छन् ।

गत शुक्रबार पनि अतिथिहरुको स्वागतमा महिलाहरुले नै बाजा बजाएर बजार परिक्रमा गराउनुभयो । दोलखा चेम्बर अफ कमर्सले आयोजना गरेको दोलखा महोत्सव उद्घाटनका लागि दोलखा आइपुग्नुभएका नेपाल सरकारका उपप्रधान तथा भैतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितका अतिथिको स्वागतमा महिलाहरुले नै बाजा बजाउनुभएको थियो ।

विवाह, व्रतबन्ध, चौरासी र विभिन्न सभा समारोहमा बाजा बजाउने जनशक्ति नपाएपछि आफैं सिकेर बजाउन थालेको अस्मिता थापाले बताउनुभयो ।

‘‘बिहान घरको काम सकेर बाजा सिक्न आउने गरेको उहाँले बताउनुभयो । राम्रै काम गर्न हिँडेकाले  घरका सदस्यले पनि साथ दिएका छन् ।’’ उहाँले भन्नुभयो । घर परिवारको साथ नभएसम्म त हामीले मात्र बजाउँछौं भनेर कहाँ सकिन्छ र उहाँले बताउनुभयो ।

पञ्जेबाजा संरक्षण, परम्परा जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

‘‘अहिले म ढोलकी सिक्दैछु, पहिला मादलसम्म बजाउन जानेकाे थिएन, सिक्दै जाँदा सबै बजाउन सकिने रहेछ ।’’ उहाँले भन्नुभयो, ‘‘हामी ब्राह्मण क्षेत्री समुदायका महिलाले बाजा बजाउन लागेका छौं, यसले समाजमा ठूलो प्रभाव पार्नेछ ।

छिमेकी गाउँबाट बोलाउँदा पालो नपाउने र धेरै खर्च गर्नुपर्ने समस्या भएपछि महिला आफैं बाजा बजाउन अग्रसर भएका हुन् । आमा समूहको आयोजनामा १६ जनाले पञ्जेबाजा बजाउन सिकेका छन् । सहनाई, ढाेलकी, ट्याम्को, झ्याली, कर्नाल, दमाहालगायत सबै नौ थरी बाजा महिलाले बजाउनुहुन्छ ।

उहाँहरुले लामो समयदेखि नियमित प्रशिक्षण लिँदै आएका छन। वडा कार्यालयको प्रस्तावमा भीमेश्वर नगरपालिकाले महिलालाई पञ्चेबाजा बजाउने तालिम सञ्चालन गर्न ५० हजार विनियोजन गरेको थियो । महिलालाई बाजा बजाउन सिकाउन गाह्रो हुने भए पनि महिलाको सक्रियता र इच्छाशक्तिले अप्ठ्यारो नभएको बाजा प्रशिक्षक रामकुमार नेपालीले बताउनुभयो ।

‘‘उहाँहरुको रुचि र उत्साहले सिकाउन सजिलो भएको छ,’’ प्रशिक्षक नेपालीले भन्नुभयो, ‘‘बाजासमेत नछोएका आमाहरुले बाजा बजाउन सिक्नु राम्रो कुरा हो । उहाँहरुलाई हामीले १० थरी बाजा बजाउन सिकाएका छौं ।’’

भीमेश्वर नगरपालिकाका–५ का वडा अध्यक्ष वासु श्रेष्ठले महिलाको उत्साह र सक्रियताबाट उत्साहित भएको र बाजा समूहलाई प्रोत्साहन गरिने बताउनुभयो । सीप भएका युवाहरु विदेशिन थालेपछि शुभ कार्यमा बाजा बजाउने जनशक्तिको अभाव भएका कारण बाजा बजाउने तालिम सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । आागामी दिनमा यस्ता कार्यक्रमलाई थप बजेट विनियोजन गरेर विभिन्न कार्यक्रम अगाडि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।-gorkhapatra

Back to top button