७ वर्षदेखि महिलाले नेतृत्व गरेको अब्बल विद्यालय

सुजन काफ्ले चरीकोट, फागुन २६ गते

दोलखा । समाजमा महिलाहरुलाइ हरेक क्रियाकलापमा कमजोर मान्ने गरिन्छ । महिलाहरु पनि नेतृत्वमा पुगेर केहि गर्न सक्छन भन्ने प्रमाणित गरिदिएको छ दोलखाको तामाकोसी गाउँपालिका २ झुलेमा रहेको जनप्रभात माध्यामिक विद्यालयले, सो विद्यालय ७ वर्षदेखि महिलाको नेतृत्वमा संचालन हुदै आएको छ ।
महिलाले विद्यालयको नेतृत्व हातमा लिएपछि यो विद्यालयको अवस्था भने फेरिएको छ । भनिन्छ नि ‘महिलाले धानेको घर व्यवस्थित हन्छ’। यो विद्यालय पनि महिलाको हातमा आएपछि व्यवस्थित बन्दै गएको अभिभावकहरु बताउनुहुन्छ ।
विद्यालयकी प्राधानाध्यापकको जिम्मेवारी गायत्री शिवाकोटीले सम्हाल्दै आउनुभएको छ । उहाँ आएपछि शैक्षिक गुणस्तरमा सुधारमात्र होइन, विद्यालयको बाहिरी व्यवस्थापन पनि हेर्न लायकको भएको छ। सरकारी स्कुल भन्दै वास्ता नगर्ने अभिभावक पनि अहिले विद्यालयको क्रियाकलापप्रति चासो राख्न थालेका छन्। वालमैत्री कक्षा कोठा रहेका छन ।
कक्षा कोठा पूरै छापामय छन । भित्तामा शैक्षिक सामग्री टाँसिएको छ । कक्षा कोठाभित्र बालबालिका स्वतन्त्र रूपमा पढ्छन् । महिला भएकै कारण बालबालिका आफ्नो समस्या पनि खुलस्त भन्न सक्छन्। जसले ल समस्या समाधानका लागि विद्यालयलाई सहज भएको छ।
पठन सीप विकाससँगै कक्षा कोठा बालमैत्री भएकाले अहिले बालबालिका नियमित विद्यालय आउन थालेको प्रधानाध्यापक शिवाकोटीले बताउनुभयो । महिलाले सम्हालेको क्षेत्र व्यवस्थित हुन्छ भन्ने देखाउन आफूहरूले अठोट लिएको उहाँ बताउनुहुन्छ ।

प्रायजसो पुरुष मान्छे बिभिन्न पेशा ब्यवसायको शिलशिलामा घरबाहिर रहने भएकाले आजभोली गाउँघरमा धेरैजसो महिला मात्र भेटिन्छन । आफ्नो छोराछोरीको पढाइको बिषयमा बुझ्न विद्यालयमा महिला अभिभावक आउने गरेको र महिला प्रधानाध्यापक हुदाँ खुलेर गफ गर्न सहज हुने गरेको उहाँले बताउनुभयो । स्थानीय शिक्षक र स्थानीयहरुको साथ सहयोगले विद्यालयको बिकासमा सहज भएको शिवाकोटीले बताउनुभयो ।राजनितिक रुपमा कसैको स्वार्थ नरहेको र सबै जनाको एक मात्र उदेश्य भनेको विद्यालयको विकास मात्र रहेकाले सहजता भएको शिवाकोटीको भनाई छ । विद्यालयमा आर्थिक प्रारदर्शिता रहेको विद्यालय ब्यवस्थापन समितीले जनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धी सुधार हुँदै आएको सोही वडाका वडा अध्यक्ष इश्वर कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो ‘यहाँको सिकाइ उपलब्धी राम्रो छ, शिक्षिकाको नेतृत्व पनि अब्बल छ, व्यवस्थापन पनि सफल देखियो।’ विद्यालयको नेतृत्व महिला शिक्षकको हातमा पुगेपछि विद्यालयको स्तरमा सुधार आएको उहाँले बताउनुभयो ।

विद्यालय वार्षिक रुपमा उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी घोषणा गरी नगद प्रमाणपत्र समेत वितरण गर्ने गरीएको विद्यालयले जनाएको छ । माध्यामिक तहमा महिलाले नेतृत्व गरेको गाउँपालिकाको पहिलो विद्यालय रहेको तामाकोसी गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरुले विद्यालयको वातावरण घरजस्तै भएको बताएका छन। पहिले विद्यालय जान भनेपछि मन नै लाग्दैनथ्यो, अहिले विद्यालय र घरमा हुनु कुनै फरक नभएको विद्यार्थीहरुले बताएका छन । बालकक्षादेखि कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा अहिले २ सय १४ जना विद्याथी रहेका छन्।

Back to top button