वैतेश्वरमा २ महिनाको लागि १६ जना सडक हेरालु

दोलखा। जिल्लाको वैतेश्वर गाउँपालिकाले बर्खायाम सुरु भएसंगै सडक संरक्षण गर्न सडक हेरालु परिचालन गरेको छ। वर्षाद्को समयमा पालिकाभित्रका मुख्यमुख्य ग्रामीण सडक सुचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको हो।
गाउँपालिकाले पालिकाभित्रका प्रत्येक वडामा दुई जनाका दरले १६ जना सडक हरालुको व्यवस्था गरिएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छबि लामाले जानकारी दिए। सडक मर्मतसम्हार र हेरचाहका लागि हेरालु परिचालन गरेको अध्यक्ष लामाले बताए।
बर्खा लागेसँगै सडकमा बग्ने भल तथा ससाना पहिरा समयमा नै नियन्त्रण गर्न नसक्दा पछि बढी क्षति हुने गरेकाले समयमै भल तथा पहिरा व्यवस्थापन गरी मुख्यमुख्य ग्रामीण सडक मर्मतसंहार गर्नसके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्यूनीकरण गर्न सकिने  भएकाले सडक हेरालु भर्ना गरेर परिचालन गरेको अध्यक्ष लामाले बताए।
गाउँपालिकाले मुख्य मुख्य ग्रामीण सडकमा काम गरेबापत हेरालुलाई दिनको ६ सय ६८ रुपैयाँ ज्याला पाउने वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले बताए।
पालिकाले गत असार १० गते बसेको कार्यपालिका बैठकमा निर्णय गर्दै पहिलो चरणमा अत्यधिक वर्षाहुने असार,साउन र भदौ सम्मको लागि हेरालु पहिचान गरेको हो।वर्षा लम्बिए पुनः हेरालुको समय थप गर्ने जनाएको छ।पालिकाले नियुक्त गरेका सबै सडक हेरालुले पालिकाअन्तर्गत रहेका मुख्य वडागत सडकको नाला सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा पानी बग्न नदिने, झाडी–झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायतका कार्य गर्ने उनले बताए।

Back to top button