कोरोनाबाट बेलायतमा थप तीन नेपालीको निधन

कोरोना भाइरसबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोनाका कारण नेपालमा दुई हजार २७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७० हजार ८५४ जना छ भने दुई लाख ६६ हजार ४८ जना अर्थात ९८.२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ । सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषय समेटिएका छन् ।

Back to top button