२१ औं शताब्दिमा ‘स्टिम’ शिक्षा

रिसभ आचार्य विराटनगर

यो २१ औं शताब्दि । अहिले समाजमा धेरै किसिमका परिवर्तनहरु आएका छन् । हाम्रो जीवनशैलीमा नै धेरै परिवर्तन आएको छ । अझ प्रविधिको विकास यति धेरै भएको छ कि जति चर्चा गर्दा पनि साध्य नहोला ।

हामीले सानो हुँदा सुनेको ‘पामटप’ । जुन किताबमा चित्र मात्र देखिन्थ्यो । अहिले हरेकको गोजी छाम्दा पामटप नभेटिएपनि स्मार्टफोन भेटिन्छ । मानव जादुगरी संसारमा छन् भन्दा फरक नपर्ला । एकपटक पुरानो कुरा सम्झिने हो भने पनि पुग्छ । हामीलाई नै थाहा छ, पहिले एकठाउँबाट अर्को ठाउँमा सन्देश प्रवाह गर्न मात्र पनि चिठिपत्र पठाउनुपर्थ्यो । जुन पुग्न महिनौं वा अलिक टाढा भए वर्ष पनि लाग्थ्यो । तर अहिले विश्वको जुनसुकै कुनामा बस्ने साथीसँग जुनसुकै बेला अनुहार हेरेर नै गफ गर्न सकिन्छ ।

धर्म ग्रन्थहरुले अनुमान गरेका कुराहरु अहिले हामीले मज्जाले उपभोग गरिरहेका छौं । धार्मीक ग्रन्थहरुमा उल्लेख भएका पुष्प विमान जस्तै अहिले हामी हवाईजहाजको प्रयोग गरिरहेका छौं । यो त उदाहरण मात्र हो । यी सवै कुराहरु केहि न केही गरेर ‘स्टिम’ सँग जोडिन्छन् ।

‘स्टिम’को पूरा अर्थ साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्टस् एण्ड डिजाइन र म्याथमेटिक्स हुन्छ । विज्ञान तथा प्रविधिले हाम्रो शिक्षा, स्वास्थ्य, ब्यापारमा यति धेरै जरा गाढेको छ कि अब प्रविधि बिना हामी एक पाइला अघि बढ्न सक्दैनौं । यसको सकारात्मक पाटो सँगै नयाँ चुनौती पनि थपिएका छन् । विज्ञान तथा प्रविधि सँग विभिन्न प्रश्न चिन्हपनि खडा गरिदिएको छ ।

मुख्य प्रसङ्ग त, के हाम्रा नानीहरु २१ औं शताब्दिको लागि तयार छन् ?

अहिलेको शिक्षण सिकाई प्रकृया हेर्ने हो भने ठूलो समस्या छ । हामी २१ औं शताब्दिमा भएपनि शिक्षण सिकाई भने अहिले पनि १९ औं शताब्दीकै छ । हामीले नानीहरुलाई प्रदान गरिरहेको शिक्षाले सृजनशिलता बढाउने भन्दा पनि कुनै फ्याक्ट्रिमा काम गर्ने जनशक्ति मात्र बनाउँछ ।

स्टिम इलन मस्कले मंगल ग्रहबाट लिएर आएको कुनै फल हैन । यो त सामान्य कक्षामा पढेको कुरालाई व्यवहारिक ढङ्गबाट बुझ्ने पद्दती मात्र हो । सन् २००२ मा अमेरीकाको नेशनल साइन्स फाउण्डेसनबाट शुरु भएको स्टिम शिक्षा अहिले विश्वभरी अभ्यास हुन थालेको छ । चाईनिज भनाई नै छ नि, ‘म सुन्छु, म बिर्सिन्छु । म देख्छु, म सम्झिन्छु । म गर्छु, म बुझ्छु ।’ ठ्याक्कै यहि भनाईलाई मान्ने हो भने स–साना नानीहरुलाई केहि काम गर्न दिदै, हातमा सिप विकास गर्दै, नयाँ कुरा बुझाउँदै, पढाउने विधि नै सरल भाषामा स्टिम हो भनेर बुझ्दा फरक नपर्ला ।

हामी धेरै टाढा नजाउँ, हाम्रै घरमा खाना पकाउँदा औंला हालेर कति मज्जाले पानीको मात्रा नाप्छौं । यो हामीले काँहि पढेर आएको हैन, घरमा देखेर सिक्दै आएको मात्र हो । यो पनि त एउटा गराई र बुझाई हो । जुन जीवन उपयोगी शिक्षा नै हो । अहिलेको समयमा प्रविधि यति धेरै विकास भइसक्यो, अब हरेक जागिर खाँदा पनि प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको छ । अझ भनौं जागिरकै प्रकृतिहरु पनि परिवर्तनशिल छन् । अहिले नै हेर्ने हो भनेपनि मानिसले यूट्युवमा भिडियो हालेर राम्रो कमाइ गरिरहेका छन् । अझ चालकबिना नै उड्ने ड्रोनको प्रयोग गरेर आम्दानीको स्रोत बनाएका छन् ।
हाम्रो पालामा नै यति धेरै विकास भइसक्यो, आउने दिनमा अझै के–के नयाँ प्रविधि आउलान् ? अनुमान गर्न पनि सकिदैन ।

हाम्रा नानीहरु ४ दिवाल भएको कक्षा कोठा भन्दा पनि प्रकृतिमा हेरेर, अवलोकन गरेर, नयाँ कुरा बनाएर, सिक्न रुचाउँछन् । जस्ले उनीहरुलाई सृजनशिल बनाउँछ । समस्या समाधान गर्न सक्ने क्षमता बढाउँछ । अहिले किताव पढीरहदा पढेको कुराको कहाँ उपयोग हुन्छ भनेर सोचिरहेका हुन्छन् । तर त्यहि ठाउँमा प्रोजेक्टमा आधारीत सिकाई (स्टिम) ले केही कुरा बनाउँदै, रमाउदै, वास्तविक विश्वका एप्लिकेशनहरु देखाउँछ ।

अहिलेको युगमा आएर किताव घोकेर सवै कुरा गर्न सक्छु भन्ने दिन हराएको छ । अहिले त आफूले सिकेको शीप जस्ले राम्रो सँग उपयोग गर्छ, उस्ले नै धेरै कुरा जानेको भन्ने ठानिन्छ । स्टिमले त्यहि कुराहरुलाई समेट्दै आउने नानीहरुमा अन्वेषण गर्ने र समस्या समाधान गर्ने शीपको विकास गर्दछ । यति मात्र हैन नानीहरुलाई गल्ति गर्नु राम्रो हो तर त्यहि गल्तिबाट सिक्दै जानको लागि अभिप्रेरित पनि गर्छ ।

अहिले नेपालमा पनि स्टिम पद्दतिको कुराहरु सुन्न थालिएको छ । जस्ले धेरै आशाका किरण बालेको छ । स्टिम लाई नै मुल मन्त्र मानेर अघि बढीएन भने आउने दिनहरुमा नानीहरुलाई बदलिँदो समाजमा काम गर्न निकै गाह्रो हुन सक्छ । स्टिमलाई नै अंगालेर अघि बढ्दै गइयो भने ‘क्रियटिभ’, ‘क्रिटिकल थिङकिङ’, ‘‘कम्युनिकेशन स्किल्स’ र ंकोलाबोरेशन स्किल्स’को विकास हुन्छ । यो नै २१ औं शताब्दिको माग हो । यी क्षमताहरु भए नानीहरुलाई जुनसुकै बिधामा पनि राम्रो गर्नसक्ने आत्मबल बढ्छ ।

स्टिम मन्त्र लाई विद्यालयहरुले अनुशरण गर्दै जानेहो भने अर्को इलन मस्क, बिल गेट्स, मार्क जुगरबर्ग हाम्रै भिर पाखाबाट नबन्लान भन्न सकिदैन ।

Back to top button