स्वास्थ्यकर्मीको मनोबल बढाउँदै युवा उद्यमी मञ्च

विराटनगर । कोभिड–१९ का संक्रमितले अस्पतालका बेडहरु थपिदै जाँदा स्वास्थ्यकर्मीहरुको भ्याईनभ्याई छ । निरन्तर घण्टौं पीपीई लगाएर संक्रमितको उपचारमा तल्लिन फ्रन्टलाईनमा खटिएका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीलाई थकान, पारिवारीक तनाव, अझ विरामीकै आफन्तबाट हुने अभद्र व्यवहार, र विभिन्न माध्यमबाट हुने आलोचनाले मनोबल कमजोर बनाउनु स्वभाविक हो ।

यस्तो विपदको बेला आफ्नो ज्यानको प्रवाह नगरि दिनरात उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्साहन गर्ने कार्य भने खासै भएको पाइदैन । यहि समयमा नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले भने फ्रन्टलाईनमा खटिनेहरुको मनोबल बढाउने अभियान थालेको छ ।

विराट शिक्षण अस्पतालका चिकित्सकहरुसँग भर्चुअल भेला गरि अभियान प्रारम्भ गरेको मञ्चले उहाँहरुले पुर्‍याएको योगदानको चर्चा गरेको छ । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको कोभिड विभागमा कार्यरत चिकित्सक तथा नर्सहरुको अर्चुअल भेलामा सहभागिता थियो ।

कार्यक्रममा महामारीमा उहाँहरुले मानवजीवन बचाउन खेल्नुभएको भूमिकाका विषयमा चर्चा भएको मञ्चका सञ्चार संयोजक रितेश खनालले जानकारी दिनुभयो । यस्तै उहाँले निषेधाज्ञा पछि फ्रन्टलाईनमा खटिनेहरुलाई प्रंशसापत्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

मञ्चको विराटनगर च्याप्टरका भूतपूर्व अध्यक्ष मनोजविक्रम शाहको अगुवाईमा भएको कार्यक्रम कोभिडका विरामी उपचारमा खटिने अन्य अस्पतालका स्वास्थ्यकर्मीहरुसँग पनि गरिने सञ्चार संयोजक खनालले जानकारी दिनुभयो ।

कोरोना महामारी फैलने क्रम बढ्दै गएका बेला फ्रन्टलाईनरहरुको हौसला बढाउनु सवैको दायीत्व हुने भन्दै मञ्चका अध्यक्ष युनेशराज श्रेष्ठले भन्नुभयो,‘हामीले त्यसकै लागि एउटा प्रयास थालेका हौं, यो अभियान सवै फ्रन्टलाईनरहरुसमक्ष पुर्‍याउने उद्देश्य छ ।’

Back to top button