कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन घोषणा

काठमाडौँ — मध्यराती बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कातिक २६ र मंसिर ३ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार नपुगेको राष्ट्रपति भण्डारीले निर्णय गर्नु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले राती १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएर संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटनका साथै दुई चरणमा चुनाव गर्ने मिति तय गरी राष्ट्रपतिसमक्ष राती १२ः४५ बजे सिफारिस गर्नु भएको थियो । उक्त सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले चुनावको मिति घोषणा गर्नु भएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीको सपथ लिएका ओलीले ३० दिनभित्र अहिलेको राजनीतिक अवस्थामा विश्वासको मत लिने आधार नभएकाले उपधारा ५ अनुसारको प्रक्रियामा जान मन्त्रिपरिषदको निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मका लागि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न समय सीमा तोक्नु भएको थियो । प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका १६ सांसदको हस्ताक्षरसहित विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्नु भएको थियो ।

त्यसलगत्तै विपक्षीहरुको तर्फबाट कांग्रेस सभापति देउवाले १३९ जना सांसदको हस्तताक्षरसहित विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्नु भएको थियो । तर हस्ताक्षर गर्ने एमालेका सांसदहरुले हस्ताक्षर दुरुपयोग भएको भन्दै ओलीले राष्ट्रपतिलाई ध्यानाकर्ष पत्र पठाएपछि दुबै जनालाई विश्वासको मत प्राप्त गर्ने आधार नपुगेको निर्णय गरिएको थियो ।

Back to top button