म मरेपछि पार्टीको झण्डा ओडाइदिनु …  गोठाले

–युवराज बास्कोटा ‘यज्ञ’, 

कोरोनाको कहर । गर्मी उस्तै, जति–जति उँदो–उँदो गयो उति–उति गर्मी बढ्दो । होइन– बिहार छेउछाउतिरै पो पुगियो कि क्या हो  ? कोरोना संक्रमणको डर उस्तै । यो सबै परिवेशलाई छिचोलेर हामी तीनभाइ उपेन्द्र कँडेल सर, खगेन्द्र पुलामी सर र म शनिश्चरे बजार सौठा, पुग्यौं । उहाँको घरमा जाने कि सोझै दाहसंस्कार स्थलमा पुग्ने ! द्विविधाभित्र हराएका थियौं हामी ।

केहिबेरमै एकोहोरो शंख बज्दै गाडीमा राखिएको लास यहिँनेर आयो । यसकै पछि–पछि हामी लाग्यौं । झण्डै साढे ४ बजेको हुँदो हो– हामी बक्राहा खोलास्थित रहेको परोपकार अन्त्येष्टि कर्मस्थल, सिजुवा पुग्यौं । मध्यान्हसम्म गफगाफ भएको मानिस अपरान्हमा बित्नुभयो । आज बिहान मात्र स्वाब परिक्षण गरिएको थियो, रिपोर्ट आएकै छैन ।

मृत्युवरण गर्नुअघि पनि घरपरिवारको भन्दा पनि समाज र पार्टीको कुरा गरिरहनुहुन्थ्यो । उहाँसँग नजिकिनो जो कोहीसँग पनि पछिल्ला दिनहरूमा मरेपछि मलाई मेरो पार्टीको झण्डा ओडाइदिनु भन्नुहुन्थ्यो । घाटमा जम्मा हुनुभएका अधिकांश स्थानीय घरगाउँले मलामीजनमा यो मात्र एउटा विषयमा एक कान, दुई कान हुँदै मैदान भइरहेको थियो ।

यो वस्तुस्थितिबारे मैले गोपी चापागाईं कमरेडलाई भने । यत्तिकैमा पार्टीको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल कमरेडसँग सम्भव भए आइदिनुस्, यहाँ यस्तो कुरा छ भनेर हामी भन्न थाल्यौं । यत्तिकैमा शोकाकूल परिवारजनले पनि बुबाको इच्छानुसार झण्डा ओडाइदिने हो, तपाईं पार्टीकर्मीको तयारी छ कि छैन भनेर जिज्ञासा राख्न थाल्यो ।

एकातिर चिता बनाउने चटारो छ, अर्कोतिर बुबाको पार्थिव शरीरमा झण्डा ओडाइदिनुपर्छ भन्ने भावविह्वल परिवारजनको माग छ । हेर्दाहेर्दै लास चितामा चढिसक्यो, होइन– झण्डा कतिखेर ओडाउने ? कसले ओडाउने ? बेइमानहरू झण्डा लिएर आउनुहुन्न है । सूर्य चिन्ह ध्वजाबाहक कम्युनिष्ट चाहिन्छ– आममानिसमाझ चासो प्रकट भइरहेको छ ।  बैद्धिक विधि नसकुञ्जेल त भएन नि ! एकछिन पर्खनुस् भन्यो, होइन उहाँले म मरेपछि पार्टीको झण्डा ओडाइदिनु भन्नुभएको छ, ओडाइदिनुपर्छ भन्न थाल्नुहुन्छ क्रमशः मलामीजनका साथीहरू ।

स्थानीयले बनाएको दाहसंस्कार कर्मस्थल एकातिर शोकमग्न छ, परिवेश नै स्तब्ध छ भने, अर्कोतिर राजनीतिक आस्था र यसप्रतिको प्रगाढ सम्बन्धबाट अभिव्यक्त मर्मस्पर्शी ओज प्रकट भइरहेको छ । मलाई भने कम्युनिष्ट पार्टीको सदस्य हुनुमा गौरवबोध भइरहेको छ । बडा अनौठो र श्रद्धाभावले भरिएको थियो– एउटा योद्धाको अन्त्येष्टि संस्कार आज ।

वि.स. १९९६ वैसाश १ गते पाँचथर जिल्लाको साविक रानीगाउँ वडा नं. ६, हाल कुम्व्याक गाउँपालिका वडा नं. ४ मा आमा भगिरथा र बुबा प्रेमनारायण खनालको कोखबाट जन्म लिनुभएका ११ सन्तानमध्ये माइलो सन्तानको रूपमा जन्मनुभएको खगेन्द्रबहादुर खनालले २४ वर्षको उमेरमा २०२० सालमा थापा कुलबंशको उत्तराधिकारी आमा गंगा थापा र बुबा सनमान थापाको साइली छोरी भद्रमाया थापासँग वैवाहिक सम्बन्ध कायम गर्नुभएको थियो ।

भद्रमाया र खगेन्द्रबहादुर खनालबीचको सम्मिश्रणबाट उभिएको परिपक्व गृहस्थले जीवननिर्वाहका लागि विकल्पहरू खोज्न र रोज्न थाल्यो । यतिबेलै त्रिभुवन विश्वविद्यालय, काठमाण्डौँबाट स्नातक उत्तीर्ण गरिसक्नुभएका उहाँले यासोकको पृथ्वी माविमा अध्यापन आरम्भ गर्नुभयो । अङ्ग्रेजीमा विशेष दखल राख्नुहुने उहाँ समाजमा हुने जुनकुनै खालका विभेद र विभेदजन्य व्यवहार, अन्याय र अत्याचारलाई कत्ति पनि सहन सक्नुहुन्नथ्यो । अङ्ग्रेजीलगायत भाषाको क्षेत्रमा नेपाली र संस्कृतको पनि गहिरो अध्ययन, अनुसन्धान र कलात्मक अभिव्यक्तिमार्फत यसको प्रस्फुटन उहाँको भिन्नै पहिचान थियो ।

अत्यन्तै फरासिलो र मिजासिलो स्वभावको धनी र भाषाका विषयहरूमा स्नातक उत्तीर्ण खगेन्द्र सर पाँचथरका लागि एउटा गत्तिलो सम्पदाको रूपमा समाजले हेरेको थियो । अध्यापनका अतिरिक्त सामाजिक काममा डुबुल्की मार्दै जानेक्रममा उहाँ समकालीन समाजको पिछडिएको वर्ग, विपन्न, गरीब, निमुखा र निम्छराका लागि न्याय र समानताको पक्षमा बोलिदिने रानो हुनुभयो । यो कुरा पञ्चायती व्यवस्थाका अगुवाहरूलाई कत्ति पनि सह्य भएको थिएन, असह्य भइरहेको थियो । पृथ्वी माविमा अध्यापन गराइरहेकै बेला केही समयको बिदा लिएर उहाँ २०३२ सालको अन्त्यतिर तराईं बसोबास गर्ने आफ्नाआफन्तलाई भेट्न आउनुभयो ।

कतिखेर के निहुँमा विद्यालयबाट निकाला गरौं भन्ने भइरहेको स्थानीय पञ्चायती शासकलाई यो विषय हेर्दाहेर्दै के खोज्छस् काँनो आँखा झैँ भयो । नियमितरूपमा पठनपाठनमा रहनुपर्ने मास्टर बिदामा बस्न पाउँदैन भनेर उहाँको अध्यापन पेशासँग जोडिएको सार्वजनिक जीवनमाथि नै रातो धर्सो लगाउने काम भयो । बिदा लिएअनुसार तराईं बसाइँको अवधि सकेर पाँचथरको फिदिम पुग्दा–नपुग्दै उहाँलाई यो विषय कानमा ठोकिन पुग्यो । जागिरका लागि हारगुहार गर्नेभन्दा पनि उहाँ यो विषयको प्रतिबाद गर्ने टुंगोमा पुग्नुभयो । समाजको मन जित्नुभएका उहाँलाई उहाँको जीवनमाथि भएको अन्याय र अत्याचारपूर्ण यो विषयले सर्वत्र सनसनी बनायो । क्रमशः सामाजिक रूपले प्रतिवाद गर्ने विषयको रूपमा यो विषय स्थापित भयो । सिंगो पाँचथरले खगेन्द्र सरको पुनःबहालीको विषयलाई हामी हाम्रो एकमात्र साझा विषय बनाउँछौँ र एजेण्डाको रूपमा उठाउँछौँ तर खगेन्द्र सर अध्यापनका लागि तयार हुनुपर्छ भन्दै गर्दा पनि उहाँ मान्नुभएन र अन्ततः पञ्चायतविरूद्धको ज्वालामुखी–लाभा बनेर निस्कने प्रण गर्नुभयो । पाँचथरका पञ्चायत हिमायतिका आँखाअगाडि तारो बनिसक्नुभएका उहाँले २०३४ सालतिर तराईं झर्ने र आफ्नो बसाइँको गन्तव्य मोरङको सिजुवालाई बनाउने टुंगोमा पुग्नुभयो ।

पहाडबाट झरेसँगै २०३५ सालको अन्त्यदेखि मोरङको सिजुवा, हालको रतुवामाईं नगरपालिका वडा नं. ६, सौठा स्थायी बसोबास गर्दै आउनुभएका उहाँको २०७८ जेठ १० गते अपरान्ह साढे २ बजेतिर देहावसान भएको छ । आफ्नो जीवनको अत्यन्तै उर्जावान र उर्बरक समय यहीँ बिताउनुभएका दिवंगत खगेन्द्रबहादुर खनालका कोखबाट ४ छोरा र २ छोरीहरूको जायजन्म हुन्छ । मृत्युपर्यन्त छोरा–बुहारी क्रमशः धमेन्द्र र दुर्गादेवी खनाल, नोवलकिशोर र मीना खनाल, केदार र सुमित्रा खनाल, योगेन्द्र र चन्द्रकला खनाल र छोरी–ज्वाईं क्रमशः कमला र राम कोइराला, टीका र दिलिप थापा र ११ जना नाती नातिनाका प्रत्यक्ष अभिभावकत्व लिनुभएका खगेन्द्रबहादुर खनाल दर्जनौं आफ्नाआफन्त र सयौं छिमेकीका लागि सामाजिक अभिभावक हुनुहुन्थ्यो ।

नेकपा (एमाले) को नेता लव प्रधानसँग मितेरी साइनो–सम्बन्ध विकास गर्नुभएका खगेन्द्रबहादुर खनालले मोरङ बसाइँ आएसँगै जागिर नखाने बरू जसोतसो जीवननिर्वाह गर्दै जनविरोधी शासनसत्ताका विरूद्ध भुसको आगो झैँ क्रमशः फैलिएको संगठित आवाजमा आवाज मिलाउँदै अघि बढ्ने दृढ निश्चय गर्नुभयो । जनपक्षीय उम्मेदवारका रूपमा चिनिनुभएका बोमबहादुर खड्काको सम्पर्कमा आएसँगै उहाँको विराटनगर आवातजावत बढ्यो । सामाजिक कामको अगुवाइमा रहनुहुने उहाँ अब क्रमशः राजनीतिक सुझबुझ विकास गर्नमा तल्लीन देखिन थाल्नुभयो । यहिँक्रममा उहाँको कम्युनिष्ट आन्दोलनको आदर्श व्यक्तित्व कमरेड मनमोहन अधिकारीसँग उहाँको भेट भयो ।

अध्यायन अनुसन्धानका लागि वराणसी रहनुभएका मदनकुमार भण्डारी इटहरास्थित आफ्नो घर आउँदाजाँदा र आएको बेला स्थानीय रूपमा आयोजिक सांस्कृतिक संवाद कार्यक्रममा २०३९ सालतिर खगेन्द्रबहादुर खनालको भेट भयो । साहित्यिक एवं सांस्कृतिक संवाद कार्यक्रममा प्रस्तुत सामाग्रीमार्फत मदनकुमार भण्डारीले खगेन्द्रबहादुर खनाललाई अलग्यै नियाल्नुभयो, व्यक्ति विशेषका हिसावले चिन्नुभयो । समयानुसार एकअर्काबीच मसिनो ढंगले भलाकुसारी भयो । पाँचथर छाड्नुपर्ने कारण खगेन्द्र सरले वराणसीबाट आएको मेधावी छात्रलाई सुनाउनुभयो । अब हामीहरूले समाजको गोठालो गर्नुपर्ने बेला आएको निष्कर्षमा दुबैजना पुग्नुभयो । त्यहिंबेलादेखि खगेन्द्र सरले आफूलाई गोठालेको रूपमा चिनाउन थाल्नुभयो, क्रमशः उहाँको पहिचानको उपनाम बन्यो– गोठाले ।

सिजुवा गाविस वडा नं. ८ का लागि लगातर दुइपटकसम्म अत्यन्तै भारी र सम्मानजनक मतका साथ निर्वाचित वडाध्यक्ष रहनुभएका गोठाले खगेन्द्रबहादुर खनाल नाटक विधामा खुबै रूचि राख्नुहुन्थ्यो, चासो लिनुहुन्थ्यो र अभिनयका लागि समेत ठाउँ–ठाउँमा तयार हुनुहुन्थ्यो ।

पाँचथरबाट बसाइँ सरेर मोरङको सिजुवा आएलगत्तै समाजका प्रगतिशील आन्दोलनको बैचारिक पक्षको नेतृत्व अग्रसरता लिने, प्रगतिशील लेखरचनामार्फत समाजलाई जागरूक र संगठित तुल्याउन मद्दत गर्ने, किसानको पक्षमा उभिएर अधिकारमुखी अवधारणालाई संस्थागत गर्ने कामको अगुवाइ गर्न थाल्नुभयो ।

यस्तो व्यक्तित्वको निधनप्रति दुःख र शोक व्यक्त गर्दै नेकपा (एमाले) मोरङका अध्यक्ष कमरेड ऋषिकेश पोखरेल आफ्नो सामाजिक सञ्जालको पेजमार्फत लेख्नुहुन्छ– एक दलीयताको अभ्यासमा रहेको क्रुर दमनको बेला २०३५ सालदेखि नै सक्रिय प्रगतिशील आन्दोलनका सार्वजनिक अगुवा, अखिल नेपाल किसान महासंघका स्थानीय नेता, प्रगतिशील लेखक संघ मोरङ जिल्लाका नेता, नेकपा (एमाले) सिजुवा इलाका, क्षेत्र, जिल्ला कमिटीका सल्लाहकार, आदरणीय अग्रज अभिभावक कमरेड खगेन्द्र गोठाले अब हामीमाझ रहनुभएन ! अभिभावक गुमाउनुपर्दाको यस दुःखद् घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली र सम्पूर्ण शोकाकूल परिवारजनमा गहिरो समवेदना !

जननेता मदनकुमार भण्डारीको राजनीतिक जीवनको प्रारम्भिककालमै साहित्यिक सांस्कृतिक संसर्गबाट संवाद बढाउँदै लैजानेक्रममा क्रमशः कम्युनिष्ट आन्दोलनमा होमिनुभएका रतुवामाई नगरपालिका वडा नं. ७, सौठा, मोरङ निवासी सामाजिक अभिभावक एवं अगुवा राजनीतिकर्मी कमरेड खगेन्द्रबहादुर खनालको देहावसानले समग्र कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टी निर्माणको प्रश्नमा फलामे अनुशासन कार्यान्वयन गर्ने एकजना आदर्श प्रतिकात्मक व्यक्तित्व ढलेको अनुभूति भएको छ, उहाँप्रति हार्दिक श्रद्धाभावपूण नमन भन्नुहुन्छ– नेकपा (एमाले) केन्द्रीय नेता कमरेड गुरु बराल ।

८१ वर्षसम्मको सक्रिय जीवनकालको अधिकांश समय सामाजिक काम र राजनीतिक जिम्मेवारी पूरा गर्नमा समर्पित थियो– प्रत्येक मलामीजन भन्छ । केही वर्षयता नशासम्बन्धी रोगले ओछ्यान लाग्नुभएका उहाँ समाजको लालगेडी भएर बाँच्नुभएको रहेछ भन्ने कुरा यो प्रतिकूल समयमा पनि उपस्थित सयौं मलामी संख्याले छर्लङ बनाउछ ।

मृत्युपर्यन्त बामराजनीतिप्रति अटल आस्था, नेकपा (एमाले) प्रतिको खँदिलो विश्वास र जनताको बहुदलीय जनवादी क्रान्ति निर्देशित राजनीतिक उद्देश्यअनुरूप सामाजिक रूपान्तरण र परिवर्तनको बिणो बोक्नुभएका बुबा खगेन्द्रबहादुर खनालका उत्तराधिकारीहरू धमेन्द्र खनाल डायनिया माविमा प्रध्यापनरत हुनुहुन्छ । मोरङ जिल्लाभित्र बामबुद्धिजीवीको भरपर्दो पात्रको रूपमा उभ्याउन सक्नुभएका माइला छोरा नोवलकिशोर खनाल पथरी शनिश्चरे नगरपालिकाको सर्वाधिक प्रिय वाल्मीवि माविको कार्यकारी निर्देशक हुनुहुन्छ । साइला केदार खनाल उर्लाबारीको प्राचीन भृकुटी माविको प्राध्यापक हुनुहुन्छ ।

उहाँहरू सबैलाई पर्न गएको पितृशोकको यो घडीमा गहिरो सहानुभूति र समवेदन समर्पण गर्दै अबिचलित राजनीतिक आस्था, निष्ठा, इमान, कर्म, सदाचार र सधैंभरि सामाजिक सेवा तत्परताका लागि तयार हुने साँचो अर्थमा कम्युनिष्ट आदर्श–प्रतिमूर्ति अभिभावक खगेन्द्रबहादुर खनाल ‘गोठाले’ प्रति अश्रुभावपूर्ण श्रद्धासुमन अर्पण !

Back to top button