विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउछौं : मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने बताउनु भएको छ । विपन्नलाई केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको उहाँले बताउनु भएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उहाँले स्वास्थ्य कार्यक्रम बारे बताउनुभयो ।

विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिने गरी प्रदेशवासीबाट सहयोग संकलन गरेर उपचार कोष निर्माणको अवधारणा अघि सारिएको उहाँले बताउनुभयो ।

अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ सम्पन्न व्यक्तिहरु हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन ।’ गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याईएको उहाँले बताउनुभयो ।

सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरिको सरकारले ‘एप्स’ निर्माण गर्ने मन्त्री राईले बताउनुभयो । उहाँले उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने समेत बताउनुभयो ।

सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि प्रदेश सरकारले योजना बनाईरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले महिला, बालबालिका, जेष्ठ नागरिक संवन्धिको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सामाजिक विकास परिषद् गठनमा जोड दिनुभयो ।

कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझाव सँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गर्नुभयो । सामाजिक क्षेत्रले उठाएका सवालहरुलाई सरकारले दीगोपना दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

माईती नेपालका मोरङ संंयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचविखनका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

एवीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो । उहाँले अधिकारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न माग गर्नुभयो ।

अधिकारकर्मी डिक घिमिरेले विगत बर्षका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

Back to top button