
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल बारे अहिले पनि केही राष्ट्रहरुको पाठ्यक्रममा त्रुटी रहेकोले सच्याउन आग्रह गर्नुभएको छ ।
दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सच्याउन आग्रह गर्नुभएको हो ।
बुद्ध लुम्बिनीमा जन्मिएको प्रामाणीकरण भइसकेकोले यस विषयमा कसैलाई पनि गलत तथ्यमा नअल्झि बालबालिकालाई सत्यताको पाठ पढाउन उहाँले आग्रह गर्नुभयो ।
‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थलका साथै शान्तिको मूल फुटेको थलो भएको प्रधानमन्त्री ओलीले बताउनु भयो ।
बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्गमा प्राप्त हुने सुखको अनुभुति स्मरण गर्नेहरुलाई सदैव प्राप्त भइरहने छ,’ उहाँले भन्नुभयो ।