भारतीय समकक्षीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह, खोपका लागि पहल गरिदिनु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराइदिनका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ ।

आज कूटनीतिक माध्यमबाट पत्राचार गर्दै उहाँले खोप उपलब्ध गराउनका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो । पत्राचारमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिनुभएको छ ।

नेपाललाई भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो भने २० लाख खोप किन्नका लागि नेपालले भुक्तानी गरिसकेको छ । त्यस मध्ये १० लाख खोप मात्र आएको भने बाँकी १० लाख खोप अझै आएको छैन।

राष्ट्रपति भण्डारीले त्यही खोपसहित थप खोप पठाउन पहल गरिदिन आग्रह गर्नुभएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

Back to top button