संसद विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ सुरु

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोक्नुभएको छ । त्यसका विरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको रिट दर्ता भएका हुन् । यस्तै संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै र धारा ७६ को ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराको एकल बेन्चमा तोकिएको छ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

Back to top button