नागरिकलाई महामारीबाट सुरक्षित राख्न सरकार प्रयासरत : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट आफ्ना नागरिकहरूलाई सुरक्षित राख्‍न सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभएको हो । नागरिकको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार गम्भिरतापूर्वक लागेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सधै सजग रहेको बताउनुभएको छ । उहाँले मानवअधिकार आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिनुभयो ।

आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उहाँले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयनमा लागिरहेको राष्ट्रिय समचार समितिले उल्लेख गरेको छ ।

कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिशको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Back to top button