विराट शिक्षण अस्पतालमा अक्सिजन अभाव, संक्रमित बिरामी डिस्चार्ज गर्दै

विराटनगर । अक्सिजनको सहज आपुर्ति नभएपछि विराट मेडिकल शिक्षण अस्पतालले नयाँ संक्रमित बिरामी भर्ना लिन बन्द गरेको छ । अस्पतालमा उपचाररत संक्रमित बिरामी पनि डिस्चार्ज गर्न बाध्य भएको हो ।

कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले अक्सिजनको आपुर्ति असहज भएकाले नयाँ संक्रमित बिरामी भर्ना लिन आजबाट छाडेको बताउनुभयो । अस्पतालमा उपचाररत घरमै बस्न सक्ने संक्रमित बिरामीहरुलाई डिस्चार्ज गर्न बाध्य भएको उहाँले गुनासो पोख्नुभयो ।

अस्पतालले विनायक र हिमाल अक्सिजन उद्योगबाट दैनिक ३१० सिलिण्डिर अक्सिजन आपुर्तिको सम्झौता गरे पनि अहिलेको कोरोना महामारीमा नियमित आपुर्ति नगरिदिदा समस्या भएको उहाँले बताउनु भयो ।

२५० शय्याको अस्पतालमा अक्सिजन अभावले अहिले १२० जना मात्रै कोरोना संक्रमित बिरामी उपचाररत छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले हिजोदेखि अक्सिजन आपुर्तिमा समस्या भएको स्विकार्नुभयो । उहाँले मोरङको मारुती र सुनसरीको पाथिभरा अक्सिजन उद्योगमा समस्या भएर उत्पादन बन्द भएकाले समस्या भएको बताउनुभयो । उहाँले बेलुका ८ बजेदेखि मारुती अक्सिजन उद्योगको आपुर्ति सुरु हुने भएकोले त्यसपछि मात्रै सहज हुने बताउनुभयो ।

Back to top button