गणतन्त्रलाई कसैको स्वार्थसिद्धिका लागि उपभोगको रुपमा अर्थ्याउनु हानिकारक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन गरी जनताको हातमा प्रतिफल पुर्‍याउन दत्तचित्त भएर कामम गरिरहेको बताउनु भएकाो छ ।

उहाँले गणतन्त्र दिवसको अवसरमा सैनिक मुख्यालयमा आयोज कार्यक्रममा गणतन्त्रलाई कसैको स्वार्थसिछिका लागि उपभोगको रुपमा अथ्र्याउनु हानिकार भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीको सम्बाोधनको पूर्ण पाठ :

सम्माननीय राष्ट्रपतिज्यू,

सम्माननीय उपराष्ट्रपतिज्यू,

सम्माननीय प्रधानन्यायाधीशज्यू,

सम्माननीय सभामुखज्यू,

सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू,

माननीय मन्त्रीगण, राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू,

संवैधानिक आयोगका प्रमुखज्यूहरू,

विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरू,

राष्ट्रसेवक कर्मचारीहरू,

विशिष्ट अतिथिहरू,

र, सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ।

आज हामी गणतन्त्र दिवस मनाउँदै छौँ। गणतन्त्र दिवस नेपाली जनताको सफलताको दिन हो। यो हाम्रो उल्लासको चाड हो तर, आज हामी त्यसरी उल्लासपूर्वक यस चाडलाई मनाउन सकिरहेका छैनौं । कोभिड–१९ को महामारीका कारण सार्वजनिक व्यवहारका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्न बाध्य छौँ । विवाह, ब्रतवन्ध, चाडपर्व र जात्राहरु समेत मनाउन सकिरहेका छैनौँ। यस्ता कुनै पनि पर्व यस महामारीका कारण हाम्रो घरदैलोमा खुसी लिएर आउन सकिरहेका छैनन् । यतिबेला कोरोनाको कहर विश्वव्यापी रुपमा साझा समस्या बनेको छ। त्रासदीको यस्तो अवस्थामा हामी गणतन्त्र दिवस यस रुपमा मनाउन बाध्य भएका छौँ ।

गणतन्त्र दिवसका अवसरमा सर्वप्रथम यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस दिन जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमा आधारित र जबरजस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको लागि आफनो जीवन उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । गणतन्त्रको सपना देख्नुहुने र हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने हाम्रा अग्रजहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु । गणतन्त्र प्राप्तिको यस लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछु ।

दाजुभाइ तथा दिदीबहिनीहरू,

आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरूद्ध कठीन सङ्घर्षमा जुटेको छ । हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीका रूपमा देखिएको यस महामारीबाट जनताको जीवन रक्षा गर्न हामीले कुनै पनि सम्भव प्रयासहरु अघि बढाएका छौँ । यसले हाम्रा कार्यपद्दतिहरू, प्राथमिकताहरू, स्वभाव र जीवनशैलीलाई चुनौति दिएको छ। यो महामारी अकस्मात आएकाले संसारका कुनै पनि देशमा यसको पूर्वतयारी थिएन।मौजुदा स्वास्थ्य संरचनाको क्षमताले सम्पूर्ण समस्यालाई सम्बोधन गर्न सबैलाई हम्मेहम्मे नै प-यो । हामीले करिब शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारलाई यसैबीचमा व्यवस्थित गरी आइपरेको संकटसँग जुध्नु प-यो। अहिले त दोस्रो÷तेस्रो लहरका रूपमा मानव स्वास्थ्यलाई चुनौति दिई भाइरसका नयाँ स्वरूपसमेत देखा परिरहेका छन् ।

हामीले अधिकांश संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने गरिरहेका छौँ । निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेका छौँ। जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क गर्ने सेवा उपलब्ध गराएका छैनन् । हामीले त आगामी निर्वाचनभन्दा अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएका छौँ। यस कार्यमा सरकार प्रयासरत छ र, आफ्नो क्षमतालाई भरपुर प्रयोग गर्दै कोभिड विरूद्धको लडाईँमा आफूलाई केन्द्रित गरिरहेको छ। यस चुनौतीलाई सामना गर्न हामी सक्षम हुने छौँ भन्ने विश्वास दिलाउन चाहन्छु।

दिदीबहिनी तथा दाजुभाइहरु,

गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो। जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो। जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामा इमान्दारी रनिष्ठासाथ क्रियाशीलरहेका छौँ।

मानव सभ्यताको विकास क्रममा राज्यहरूको उत्पत्ति गणराज्यहरूबाट भएको थियो । लोकतान्त्रिक विधिबाट निर्वाचित हुने प्रतिनिधिहरूबाट गणराज्यहरूको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरू जनताको अभिमतबाट नै हुने परम्परागत व्यवस्थाबाट नेपाली सभ्यताको पनि आरम्भ भएको थियो । तर, सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरू स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा ‘हुकुम’बाट राज्य सञ्चालन गर्ने व्यवस्था शुरु हुनपुग्यो । छलछाम, कपट र हिंसाबाट राजतन्त्र सुरु भयो र जनतामाथि गरेको दमनबाट वंशाणुगत नेतृत्व कायम भयो । लामो समयसम्म चलेको त्यस सामन्ती प्रणालीको अन्त्य गर्दै हामीले ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो शासन प्रणालीको रूपमा अगाडि बढाएका छौं ।

नेपालमा गणतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ । विधियुक्त राज्य प्रणालीले कानूनको शासन र लोकतन्त्रको प्रतिनिधित्व गर्दछ। सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हो। हाम्रा सम्पूर्ण साधनस्रोत तथा प्रयासहरू ती आकाङ्क्षालाई मूर्त रूप दिन नै केन्द्रित छन्। हामीसँग जनताका प्रतिनिधिले बनाएको संविधान छ। संविधानमा जनताको अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरू प्रतिविम्बित छन्। तिनको व्यवहारिक कार्यान्वयन मार्फत जनताको हातमा प्रतिफल पुर्याउन हामी दत्तचित्त छौँ । लोकतान्त्रिक गणतन्त्रको अभ्याससँगै हामीले हासिल गरेका उपलब्धिहरू गौरवपूर्ण र दूरगामी महत्वका रहेका छन् ।

गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो । जनतामार्फत निर्धारित गरिएको जनताको तन्त्र हो । जनतालाई केन्द्रविन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो। मानिस जन्मदैँ धर्तीमा रहेका स्रोतसाधन निर्वाध उपभोग गर्न पाउने अधिकारसहित जन्मन्छ। जनताको श्रेष्ठता र सर्वोच्चता हुने, स्वच्छ प्रतिस्पर्धा रहने गणतन्त्रात्मक शासन प्रणाली सामाजिक रूपान्तरणको माध्यम हो । संविधान र कानूनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्नेगरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दीगो हुन सक्दैन । जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनु पर्दछ । त्यसैले समुचितरूपमा लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध बनाउन जनताले समानतायुक्त, न्यायपूर्ण, शान्ति सुरक्षायुक्त वातावरणसहित सुशासन र सेवामा पहुँचको अनुभूति गर्नेगरी हामीले हाम्रा तमाम प्रयासहरु अगाडि बढाएका छौं ।

गणतन्त्रको यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा विकास गर्ने समुन्नत प्रणालीतर्फ हामी अग्रसर छौँ। मुलुकमा संरचनागत पूर्वाधारको तीव्र र दीगो विकासमा हाम्रो सक्रियता त्यसैका लागि हो । हामी मुलुकको विकासका लागि सामाजिक र भौतिक पूर्वाधार बनाउँछौँ, तिनै पूर्वाधारहरुले जनताको सुख र समृद्धिका आधार निर्माण गर्दछन् । यसैलाई हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका रुपमा अघि सारेका छौँ । हामीले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाएका छौँ।

गणतन्त्रलाई जनताको जीवनसँग तादात्म्य कायम गरेर अघि बढ्न हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित छन्। जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको छ । गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति समेत हो ।

लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन सक्दैन, गणतन्त्रबिनाको लोकतन्त्रमा सार्वभौमसत्ता वास्तविक रुपमा जनतामा हुँदैन । हामी लोकतन्त्रसहितको गणतन्त्र र गणतन्त्रसहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । हाम्रो समाज र संविधानले लोकतान्त्रिक गणतन्त्रलाई अंगीकार गरेको छ । सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो, जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्गहरू, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायहरुको बीचमा विभेद र बहिस्करण होइन, राज्यको संरक्षणले स्थान पाउँछ। राज्यले कमजोर र विपन्न वर्गलाई संरक्षणको नीति लिएको छ । गणतन्त्रमा जाति, वर्ग, लिङ्ग, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन।गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली भएकाले विचारहरूको स्वस्थ बहस, मर्यादित छलफल र असहमतिहरूका बीच निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ। यसका लागि आचरण, व्यवहार र विचारका हिसाबले समेत उन्नत, परिष्कृत, पारदर्शी, सहभागितामूलक र स्वार्थरहीत व्यवहार हुनु अनिवार्य छ।वास्तवमा अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले कानूनको शासन र समावेशी लोकतन्त्रलाई सार्थक र सफल तुल्याउँछ।

यस अवधिमा हाम्रा हरेक प्रयास लोकतान्त्रिक गणतन्त्रलाई जीवनपद्दतिका रुपमा स्थापित गराई शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन, नयाँ संविधान कार्यान्वयन गर्न, संक्रमणकालको अन्त्य गरी गणतन्त्रलाई संस्थागत गर्न र विकासको यात्रालाई अघि बढाउन केन्द्रित रहेका छन्। यस अवधिमा चेतनाको संस्थागत विकाससँगै विकास र समृद्धिका सपनाहरूले पनि साकार रूप लिन थालेका छन्। जनताले आफूलाई शासन गर्ने, आफ्ना प्रतिनिधि आफै चयन गर्ने र आफ्नै सहभागितामा स्वतन्त्र ढङ्गले विकास गर्ने पद्दति बसालिएको छ। राष्ट्रको सार्वभौम अभ्यासले नवस्थापित गणतान्त्रिक प्रणालीलाई मजबुत पार्दै राष्ट्रले अन्तर्राष्ट्रिय रुपमा समेत भिन्न पहिचान बनाएको छ।

लामो राजनीतिक अस्थिरता र संक्रमणलाई चिर्दै मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ। आर्थिक वृद्धिदरमा निरन्तर प्रगतिका साथै निरपेक्ष गरिबीमा कमी हुनु, सुशासन र शान्ति स्थापनामा सुधार भई अपराधमा कमी तथा जनतामा सुरक्षाको प्रत्याभूति हुनु, भूकम्प पछिको पुनर्निर्माणका कार्यले सार्थकता पाउनु, सेवाप्रवाहमा व्यापक सुधारसहित जनताको सन्तुष्टि बढ्दै गई विकास, समृद्धि तथा सुशासनका सबै आयामहरू तथा विश्वप्यापी परिसूचकहरूमा उल्लेख्य सुधार आउनुले मुलुक सही दिशातिर अगाडि बढेको नै स्पष्ट हुन्छ। खासगरी कोरोना महामारी शुरू हुनुअघिसम्म विकास र समृद्धिका हाम्रा सबै सूचकहरू अत्यन्त उत्साहबर्द्धक रहेका थिए।

मुलुकको यस शासन प्रणालीलाई संस्थागत र सुदृढ गर्न राष्ट्र र राष्ट्रियताको भावना एकाकार हुनुपर्छ । ओझेलमा परेका विकास र समृद्धिका आकाङ्क्षाहरूलाई एकीकृतरूपमा सम्बोधन गर्नुपर्ने हुन्छ। सरकारले विभिन्न समयमा देखा परेका अनेक व्यवधानहरुलाई झेल्दै जनआकाङ्क्षालाई नै प्राथमिकतासाथ सम्बोधन गरेको छ र गरिरहने छ ।

लोकतन्त्र जनताको जीवनमा बाँच्नुपर्ने प्रणाली हो। जनताको जीवनबाट यसलाई अलग गरेर केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि उनीहरुलाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अर्थ्याउने विसङ्गत परिभाषा यसका लागि हानीकारक छ। यो जनताको सार्वभौम अधिकार हो, जसलाई जनताले निर्वाचन मार्फत अभ्यास गर्दछन्। जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न सक्दैन। हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन, गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने छ। जनता मजबुत हुँदा स्वतः लोकतन्त्र मजबुत हुने प्रत्याभूतिको बाटोमा हामी छौँ। राजनीतिक झगडा/लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन म सबैलाई आग्रह गर्न चाहन्छु।

आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो।निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्न र निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्दछ।यसै अभिप्रायका साथ आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ । यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।

गणतन्त्र दिवसको यस अवसरमा सरकार निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना आज कसरी भयो भनी स्पष्ट गर्नु सान्दर्भिक ठान्दछु। मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरुप जारी घोषणापत्रअनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरुसमक्ष अवगत नै छन् । तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ।जनताका लागि होइन, सत्ता आकाङ्क्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो। मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुग्यो।सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छ ।

गणतन्त्र दिवसको यस सन्दर्भमा म यहाँहरू सबैमा कोरोना संक्रमणबाट सुरक्षित रहन आग्रह गर्दछु।यसबीचमा कोरोनाका कारण मृत्युवरण गर्नुहुने दिदीबहिनी तथा दाजुभाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।यस चुनौतीलाई हामीले परास्त गरिछाड्ने संकल्प व्यक्त गर्दछु।

धन्यवाद ।

-नेपाली सेना, जङ्गीअड्डा,

भद्रकाली, काठमाडौं 

Back to top button