बजेट लगानीमैत्री छ : सुयस प्याकुरेल

सरकारले प्रस्तुत गरेको आ.व. २०७८/०७९ को बजेटको विषयमा कोशी सन्देशसँग उदोग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले दिनुभएको प्रतिकृया

विराटनगर । बजेट लगानी मैत्री छ । हामीले पहिलेदेखि उठाउँदै आएका विषयहरुलाई सम्बोधन गर्ने प्रयास भएको छ । जस्तो प्रदर्शनी स्थल, डिजेलमा भ्याट क्रेडिट सिमितता थियो त्यसलाई बन्द गर्ने कुरा, कोभिड अवधिभरको सामाजिक सुरक्षा कोषको रकम सरकारले ब्यहोर्ने, उद्योगहरुको डिमाण्ड शुल्क मिनाहालगायतका विषयलाई सम्बोधन गर्न हामीले भन्दै आएका थियौं । ति अधिकांशलाई सम्बोधनको प्रयास भएको छ । सामाजिक सुरक्षा कोषमा भने कोभिड अवधिभर भनेपनि सरकाले दुई महिनाको रकम ब्यहोर्ने भनेको छ । त्यो पनि सकारात्मक नै छ ।

यस्तै आयात गरिने बस्तुहरुमा दुईतहको ‘ग्याप’ भनिन्छ । जस्तो कि कच्चा पदार्थ र तयारी वस्तु । यस्ता कतिपय वस्तुहरु छन् जुनमा दुई तह भनिएपनि तह नै हुदै न । त्यस्ता बस्तुहरुको पहिचान गरेर सम्बोधन गर्न नसक्दा समस्या हुँदै आएको थियो । अहिले त्यस्ता केहि बस्तुहरुलाई संरक्षण गर्न केहि हदसम्म ग्याप बनाउनका लागि आयातित बस्तुमा अन्तशुल्क लगाइएको छ । आन्तरिक उत्पादनबाट हटाइएको छ । यो स्वागतयोग्य कुरा हो । तर अझैपनि धेरै बस्तुहरुमा छुटेको छ । जुन बस्तुहरुमा एक तहको पनि ग्याप छैन । एक तहको पनि ग्याप नभएको बस्तुहरुमा कच्चा पदार्थ भन्दा पनि तयारी बस्तु नै सस्तो हुन आउँछ । यस्तो अवस्थामा भयो भने उद्योगको उत्पादन प्रतिष्पर्धि हुन सक्दैन । तसर्थ सरकारले यी कुरामा पुन पुनरावलोकन गर्नुपर्छ ।

अर्को कुरा बजेटले पूर्वाधारको पक्षमा पनि सकारात्मक सम्बोधन गरेको छ । पूर्वपश्चिम राजमार्गका केहि ठाउँमा टेण्डर भएको छ । त्यसमा पनि आवश्यक बजेट छुट्याएको छ यो सकारात्मक छ । यस्तै जलमार्ग र रेलमार्गको कुरा उठाएको छ । त्यसले भोलीको लागि बाटो तय गरेको छ । अर्को विद्युतीय उपकरणको प्रयोगमा जोड दिइएको छ । जुन सकारात्मक छ । विद्युतको खपत बढ्दा हामीले पनि राहत पाउँछौं ।

महत्वपूर्ण कुरा भनेको पहाडका बाटोहरु अप्ठ्यारा छन् । त्यस्ता बाटाहरु भत्किरहने समस्या छ । अझ बिटुमिनको प्रयोग गरेर पिच बनाउँदा हामी आयातमा निर्भर हुनुपरिरहेको छ । पहाडतिरको बाटोमा पहिरो जाने भएकाले यो बाटो चाँही त्यति धेरै टिकाउ हुदैन । त्यसमा हामीले एउटा कुरा अनुरोध गर्दै आएका थियौ,ं कम्तिमा पहाडी राजमार्गहरुमा आन्तरीक उत्पादनको सिमेन्ट र छडको प्रयोग गरौं । जुन भारतलगायतका धेरै स्थानमा प्रयोगमा आइरहेको पनि छ । त्यसले गुणस्तर बढ्ने र आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्ने काम गर्छ भन्दै आएका थियौं । यो बजेटले पहाडी राजमार्गहरुमा आफ्नै देशको सिमेन्ट र कच्चापदार्थ अधिकतम प्रयोग गर्ने भनिएको छ । यो चाँही अत्यन्त सकारात्मक छ । हामी अहिले पनि सिमेन्टमा आत्मनिर्भर छौं । यसले थप उत्पादनमा बल पुर्याउँछ ।

यस्तै सरकारले निर्यात गर्ने बस्तुमा पनि आफ्नो लक्ष्य प्रस्तुत गरेको छ । जस्तै रड सिमेन्ट, जुत्ता चप्पललगायतका बस्तुहरुको निर्यातको कुरालाई सम्बोधन गरेको छ । यसले निर्यात प्रवद्र्धनमा पनि सरकारको ध्यान पुगेको देखिन्छ । समग्रमा ६ प्रतिशतको ‘ग्रोथ’को जुन लक्ष्य सरकारले लिएको छ । त्यो भने चुनौती पूर्ण देखिन्छ । किनभने त्यति ‘ग्रोथ गर्न कम्तिमा १५– १६ खर्ब रुपैयाँ खर्च नै गर्नुपर्ने हुन्छ । हो यो चाँही हाम्रो पुँजीगत खर्च गर्ने अवस्था त्यति नभएकाले चुनौतीपूर्ण देखिन्छ ।

Back to top button