
विराटनगर । कोरोना संक्रमणको दर बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्मका लागि थप गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज पाँचौ पटकको निषेधाज्ञाको समयावधि थप गर्नुभएको हो ।
अब मोरङमा २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी भएको छ । यसअघि भोली रातीसम्मको लागि निषेधाज्ञा जारी भएको थियो । सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाएको छ ।
यस्तै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ लाई पनि निषेधाज्ञा थप गर्ने आधारको रुपमा प्रशासनले लिएको छ ।
कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।
हेर्नुहोस जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा सम्बन्धि सूचना