बजेट कार्यान्वयनमा आशंका नगर्नुहोस् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षको बजेट कार्यन्वयन प्रति कुनै आशंका नगर्न आग्रह गर्नुभएको छ । आज नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले बजेट कार्यान्वयन गर्नका लागि मन्त्रालयगत कार्ययोजना तय गरिने बताउनुभएको छ । उहाँले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने र यसका लागि आजदेखि नै सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल थालिएको जानकारी गराउनुभयो ।

मन्त्री पौडेलले चुनावपछि पनि एमाले नेतृत्वकै सरकार बन्ने सामर्थ्य राख्ने भन्दै उहाँले सरकारले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यन्वयन गर्नका लागि बजेट ल्याएको बताउनुभयो । कोभिड भनेर हात ठडाएर बस्न नमिल्ने भन्दै मन्त्री पौडेलले परिस्थितिसँग जुध्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

छलफलमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले बजेट कार्यान्वयन समयमै गर्नका लागि बजेटमार्फत केही सुधारको प्रयास भएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा भत्ता पनि विचार गरेर नै बढाइएको बताउनुभयो ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधीले बजेट निजी क्षेत्र मैत्री भएको भन्दै खुसी व्यक्त गरेका छन् । बजेट कार्यान्वयनमा शङ्का गर्दै निजी क्षेत्रका प्रतिनिधिले बजेटमा उल्लेख गरिएका कुरा यथाशीघ्र कार्यान्वयनमा लैजान आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले यसपालिको बजेटमा सरप्राइज भएको बताउनुभयो । उहाँले चुनावको घोषणा गरिसकेको सरकारले हाम्रा माग सम्बोधन गर्न सक्दैन जस्तो लागेपनि ६० प्रतिशत सुझाव सम्बोधन गरेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

उहाँले कोभिड खोपको व्यवस्थाका लागि आएको बजेटपनि स्वागतयोग्य भएको बताउनुभयो । यस्तै पर्यटन, मनोरञ्जन, कृषिलगायतका क्षेत्रका ल ागि छुट्टिएको बजेट प्रशंसायोग्य रहेको बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले बजेटले राखेको लक्ष्य पूरा गर्न चुनौतीपूर्ण भए पनि बजेटको नीति सकारात्मक रहेको बताउनुभयो । उहाँले समयमै सर्वसुलभ खोपको व्यवस्था गर्न सकेमा आर्थिक क्रियाकलाप विस्तार भइ सरकारले लिएको साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर समेत पनि हासिल हुने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट निजी क्षेत्र मैत्री रहेको बताउनुभयो ।

Back to top button