मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका वडा–४ बलिया बस्ने मदन कुमार चौधरीको मोटरसाइकल चोरी गर्ने ७ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी १३ का २८ वर्षीय राजेश मेहता, ईटहरी–२० का ३८ वर्षीय बलराम गुरूङ, ३९ वर्षीय भवेस भनिने सुवास लिम्बु, इटहरी ३ का ३० वर्षीय मचिन राई, इटहरी ४ का २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भनिने मनोज परियार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गत जेठ १२ गते राती बलियाकी मिनाकुमारी बिकको घरमा डेरा बस्ने चौधरीको प्र–१–०५–००१ प००६१ नम्बरको रातो रङ्गको पल्सर मोटरसाईकल चोरी भएको थियो । हराएको मोटरसाईकल इटहरी १३ का २८ वर्षीय राजेश मेहताको घरमा हिजो फेला परेको थियो ।

मोटरसाइकलसँगै मेहतालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चोरीमा सम्लग्न थप ६ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेकाहरुमाथि ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भई आवश्यक कानुनी कारवाही अघि बढाएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

Back to top button