मन्त्रिपरिषदमा प्रदेश २ का मन्त्रीहरुको उपस्थिति इतिहासमै सबैभन्दा बढी

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिई पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति गर्नुभएको ७ मन्त्री र १ राज्यमन्त्रीले आज राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका हुन् ।

गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री नियुक्त भएका मोहन बानियाँले पदभार ग्रहण गर्नु भएको हो ।

आशाकुमारी विकलाई वन तथा वातावारण राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अहिलेको मन्त्रिपरिषदमा प्रदेश २ का मन्त्रीहरुको उपस्थिति इतिहासमै सबभन्दा बढी रहेको छ ।

२५ सदस्यीय मन्त्रिपरिषदमा १३ जना मन्त्री प्रदेश २ का छन् भने वाग्मतीका ५, सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र प्रदेश १ का १–१ जना मन्त्री रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीले जनाएको छ।

Back to top button