प्रदेश १ सभा : यी प्रदेशसभा सदस्यले गरे नीति तथा कार्यक्रमको समर्थन, कस्ले के भने ?

विराटनगर । प्रदेश १ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै आज प्रदेशसभामा सत्तारुढ दलका केहि प्रदेशसभा सदस्यले समर्थन गर्दै धारणा ब्यक्त गर्नुभएको छ ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य अम्बिका थापाले २६५ बुँदामा समेटिएको नीति तथा कार्यक्रम अत्यन्त राम्रो र उत्कृष्ट रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै शिक्षा, कृषि, पर्यटन, उद्योग, महिला, अपांग, बालबालिका, दलित, पिछडिएको क्षेत्र, सडक, पुलपुलेसा, अधुरो भवनहरु यस वर्ष पूरा हुने भनिएको छ जुन स्वागतयोग्य रहेको बताउनुभयो ।

यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास र विशेष कार्यक्रम राखिएकोले प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । गत वर्ष पनि यो कार्यक्रम राखिएपनि कोरोनाका कारण बजेट जान नसकेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिँदै यस वर्षपनि स्थान पाएकोमा खुशि ब्यक्त गर्नुभयो ।

उहाँले उदयपुर जिल्लाको सिमेन्ट उद्योगबाट दैनिक ७–८ सय बोरा उत्पादन भइरहेको भन्दै त्यसलाई दैनिक ६ हजार उत्पादन हुने उपकरणको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो,‘उदयपुर सिमेन्ट उद्योगको क्षमता विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, किनकी उद्योगको आफ्नै चुनढुंगा खानी र माटो रहेको छ ।

यस्तै उहाँले स्वास्थ्यको क्षेत्रमा यदयपुरमा ५० शय्याको जिल्ला अस्पतालले नपुगेकाले १०० शय्याको अस्पताल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहेको बताउनुभयो । उदयपुरको बेलका नगरपालिकामा निर्माण भइरहेको अक्सिजन प्लान्ट ८ वटा पालिका र व्यक्तिगत सहयोगमा निर्माण भइरहेकोले प्रदेश सरकारलाई पनि सहयोग गर्न आग्रह थापाले आग्रह गर्नुभयो ।

थापाले नीति तथा कार्यक्रमले समेटेको जन्म दिने आमाहरुलाई सम्मान गर्नु उचित रहेको भन्दै त्यसकालागि भने हो तर उमेरलाई आधार मान्दा उपयुक्त हुने बताउनुभयो । यसैगरि स्वास्थ्य स्वयंसेविका, बालविकास केन्द्रका सहजकर्ताको पक्षमा व्यवस्था गरिएको व्यवस्था अत्यन्त सकारात्मक रहेको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य आशारत्न जबेगुले नीति तथा कार्यक्रमले प्रदेशलाई समृद्ध बनाउने परिकल्पना गरेको बताउनुभयो ।उहाँले नीति तथा कार्यक्रमले सवै क्षेत्रलाई समेटेको भन्दै त्यसलाई विरोधका नाममा विरोध गर्नुभन्दा कार्यान्वयन गर्न गराउन सवैले ध्यान दिनुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो,‘नीति तथा कार्यक्रमले सवै पक्षलाई सम्वोधन गरेको छ, त्यसलाई पूर्ण कार्यान्वयन गर्न लाग्नुपर्छ ।’

प्रदेशसभा सदस्य उत्तम बस्नेतले प्रदेशसभा सदस्यहरुले पिछडिएको क्षेत्रमा नभई आ–आफ्नै क्षेत्रमा योजनाहरु केन्द्रित गरेको बताउनुभयो । उहाँले यस विषयमा प्रदेशसभा सदस्यहरु पनि गम्भिर हुन आवश्यक रहेको तर्क गर्नुभयो ।

बस्नेतले नीति तथा कार्यक्रममा धेरै राम्रो पक्ष रहेको भन्दै सोलुको दुधकोशी अस्पताललाई ट्रमा सेन्टर बनाउने भएको पूर्व सहमति अनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि जनताहरुले यज्ञ लगाएर रकमसमेत संकलन गरेको जानकारी गराउँदै उहाँले प्रदेश सरकारले निर्माणका लागि आवश्यक प्रबन्ध गरोस् भन्ने माग राख्नुभयो ।

यस्तै उहाँले भेडा र चौरी पालनलाई समेट्न र प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । यसैगरि प्रादेशिक सडकको विषय ठीक रहेको बताउनुभएका बस्नेतले तर छनौट कहाँ गर्‍यौं ? त्यो महत्वपूर्ण विषय होस् भन्ने इच्छा ब्यक्त गर्नुभयो ।

जयरामघाटदेखि नाम्चेसम्मको सडकलाई सम्बोधन गरियोस भन्नुभएका बस्नेतले नीति तथा कार्यक्रममा समेटिएको केचना– सगरमाथा सडकको विषय अत्यन्त सकारात्मक रहेको बताउनुभयो ।

उहाँले अधिकार सम्पन्न पर्यटन प्रवद्र्धन आयोग गठन गरिनुपर्ने भन्दै पञ्च वर्षीय प्रादेशिक आयोजनाहरुको पुनरानवलोकन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै प्रदेशसभा सदस्य सर्वध्वज साँवा, बलबहादुर साम्सुहाङ्ग र बसन्तिदेवी यादवलगायतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बचाउ गर्नुभयो ।

Back to top button