गण्डकी प्रदेशमा पोखरेल मुख्यमन्त्री नियुक्त, केहिबेरपछि सपथग्रहण गर्ने

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा केहिबेरपछि शपथ ग्रहण गर्दै हुनुहुन्छ । आजै नेपाली कांग्रेसका १, माओवादी १ , जसपाका १ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको रुपमा शपथ लिने हुनुभएको छ ।

वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।

शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । तर आज विश्वासको मत गुमाएका पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा दाबी गरेपछि गण्डकीको राजनीतिले नाटकीय मोड लिएको थियो ।

घटनाक्रम अन्तैतिर मोडिने भएपछि विपक्षीदलहरुले प्रदेशप्रमुखको कार्यालय अगाडि धर्ना समेत दिएका थिए ।

Back to top button