उपचारकालागि दिल्लि जानुअघि नेता खनालको बक्तव्य : एकता सफलताको बाटो हो भने, फुट विनासको

काठमाडौं । नेकपा एमालको वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई जोगाउन सबैमा आह्वान गर्नु भएको छ । उपचारका लागि भारत जानुअघि एक प्रेस वक्तव्य जारी गर्दै उहाँले पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई आह्वान गर्नु भएको हो ।

‘रिस, राग, अहंकार र बदला भाव त्यागेर पार्टिका वैधानिक प्रकृयाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु,’ वरिष्ठ नेता खनालले भन्नुभएको छ,‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमताका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ । र, सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।’

उहाँले वर्तमान राजनीतिक अवस्थाले आफूलाइै धेरै चिन्तित बनाएको उल्लेख गर्नु भएको छ । बक्तब्यमा लेखिएको छ, ‘विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरू विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन् ।

त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ मा पर्‍यो । र, अहिले नेकपा (एमाले) मा परिरहेको छ । राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रूपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो ।’

वरिष्ठ नेता खनालले बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा गम्भीर संकट उत्पन्न भएको बताउनुभएको छ । उहाँले विगतमा सबै मिलेर ठूलाठूला सफलताहरू प्राप्त गरेको स्मरण गराउँदै एकता सफलताको बाटो हो भने फुट विनासको भन्दै सचेत गराउनुभएको छ ।

Back to top button