एमाले कार्यदलले पार्टी एकताको निष्कर्ष चाँडै बाहिर ल्याउने

काठमाडौं । नेकपा एमाले भित्रको विवाद मिलाउन यतिबेला दोस्रो तहका नेता सम्मिलित कार्यदलले प्रयत्न जारी राखेको छ । सहमतिको विन्दु पहिल्याउन हिजो बेलुका पनि ललितपुरस्थित होटल समिटमा छलफल भएको छ ।

करिब २ घण्टा चलेको छलफलले निष्कर्ष नै ननिकाले पनि सहमति उन्मुख रहेको नेताहरुले प्रतिकृया दिनुभएको छ । संस्थापनतर्फबाट कार्यदलका संयोजक रहनुभएका नेता सुवासचन्द्र नेम्वाङका अनुसार सहमतिको विन्दु पहिल्याउन र पार्टीलाई एकतावद्ध बनाएर लैजान निरन्तर छलफल भइरहेको हो ।

नेम्वाङले भन्नुभयो,‘धेरै कुरामा सहमति भएका छन् । सबै सहमति एकमुष्ट रुपमा बाहिर आउछन् । छलफल चलिरहेकाले अहिले नै सवै भन्न मिल्दैन ।’ उहाँले बन्दै गरेको पार्टीभित्रको एकताको सहमतिलाई पार्टीभित्रै बाट भत्काउने प्रयास समेत भइरहेको टिप्पणी गर्नुभयो । यद्यपी उहाँले यस विषयमा थप केहि बोल्न चाहनुभएन ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले उपचारका लागि दिल्लि जानुपूर्व जारी गर्नुभएको बक्तब्यपछि कार्यदल पुनः सक्रिय भएको हो । नेता खनालले पार्टी एकता अपरिहार्य रहेको उल्लेख गर्दै एकताले मात्र मजबुँद हुने फुटले बिनास भन्दै एकतामा जोड दिनुभएको थियो ।

उहाँको बक्तव्य नै किर्ते रहेको टीप्पणी भएपछि एकता चाहने र नचाहने पक्षभन्दै सामाजिक सञ्जालमा समेत विरोध हुन थालेको छ ।

Back to top button