प्रहरी जवान याादव जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । नगर प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी जवान राजेश कुमार यादव जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएको छ ।

विभागीय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराधिक कार्यमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै प्रदेश १ प्रहरी कार्यालयले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

यादवले अबैध भन्सार छली, चोरी, निकासी तथा पैठारीको सामानहरु पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने लगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भका साथै यस प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

Back to top button