जोखिममा रहेका बालबालिकाको परिवारलाई खाध्य सामग्री हस्तान्तरण

विराटनगर । साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले ५ दर्जन बढी बालबालिकाका परिवारलाई खाध्य सामग्री र स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा कोकनले कोभिड १९ बाट प्रभावित र जोखिममा रहेका ६९ बालबालिकाका परिवारलाई खाध्य सामाग्रीसहित स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको हो ।

कोकनले हरिनगरमा १४, देवानगञ्जमा १, बर्जुमा १७, गढीमा–४, दुहबीमा १ र रामधुनीमा ३२ गरी ६९ जना जोखिममा रहेका बालबालिकाका परिवारलाई खाध्य सामग्री उपलब्ध गराएको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार चामल ५० केजी, अण्डा १ क्यारेट, पिठो ५ केजी, दाल ६ केजी, चना ३ केजी, सोयाबिन आधा केजी, तोरीको तेल ५ लिटर, चिनी ३ केजी, चियापत्ति आधा केजी, नुन २ केजी, नुहाउने साबुन ५ वटा, लुगा धुने साबुन ५ वटा, सरफ १ केजी, दन्तमन्जन १ थान, सेनिटरी प्याड ३ प्याकेट, सर्जिकल मास्क २ प्याकेट, सेनिटाइजर १ लिटरलगायतका खाध्यान्नसहितको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

महिला, बालबालिका र सीमान्तकृत समुदायको हकअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कोकनले जोखिममा रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी सुनसरीका चार गाउँपालिका र दुई नगरपालिकाका ६९ घर परिवारलाई खाध्यान र स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो ।

कोरोना संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग, सामाजिक दुरी कायम र समय–समयमा साबुन पानीले हात धुने कुरामा ध्यानदिन पनि आग्रह गरिएको पौडेलले बताउनुभयो ।

कोकनले कोरोना संक्रमणको दोश्रो लहरले व्यापकता पाएसंगै संक्रमित व्यक्तिहरुका लागि सहायता कक्ष र मनोसामाजिक समस्या भएकाहरुका लागि मनोविमर्श सेवा पनि सञ्चालनमा ल्याएकोे अध्यक्ष उपाध्यायले बताउनुभयो ।

Back to top button